
डोटी । शिक्षण पेशासँगै सुदूरपश्चिमेली लोकसंस्कृतिको जगेर्नामा सक्रिय योगदान दिँदै आएका लोक डेउडा गायक पदम कार्कीको नयाँ लोक देउडा “धनसिङ्या जिउनुइ छ” सार्वजनिक भएको छ ।
बुधबार न्यु काफली म्युजिक प्रा.लि. (New Kaphali Music Pvt. Ltd) को युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक पदम कार्की र गायिका गौरी भट्टको स्वर रहेको छ । गीतको शब्द चर्चित सर्जक तथा डाइलग मास्टर टेक बहादुर ऐरले तयार गरेका हुन् भने लय सिर्जना स्वयं गायक कार्कीले गरेका हुन् । गीतमा रस्मिका मल्ल ठकुरी र करण साउँदको अभिनय रहेको छ । छायांकन गणेश साउँदले गरेका हुन् भने निर्देशन सुदूरपश्चिमका चर्चित निर्देशक **रमेश बिजुली बी.सी.**ले गरेका छन् ।

गीतको कथा गाउँघरमा प्रचलित यथार्थ घटनामाथि आधारित छ । गरिब परिवारको धनसिङ्या नामक पात्रले विवाह गरेलगत्तै आमा–बुबा र श्रीमतीलाई छोडेर भारत पस्छ । लामो समयसम्म घरमा सम्पर्क गर्दैन, न पैसा पठाउँछ न त अर्ना गर्छ । उल्टै रक्सी, जुवा र झगडामा समय बिताउँछ । पछि उसलाई भारतका स्थानीय (ढेण्या)हरूले झगडाबाट जोगाउँछन् ।
घरमा भने अर्को व्यक्तिले खबर ल्याउँछ कि धनसिङ्या बेंगलोरको लालबागमा मृत फेला परेको छ । त्यसपछि श्रीमतीले फोनमार्फत श्रीमानसँग कुरा गर्दा सुरुको शब्दमै श्रद्धाञ्जली भन्न पुग्छिन् । १२ वर्षसम्म श्रीमानको साथ नपाई घरमा सासु–ससुराको दुःख झेल्नुपरेको पीडाले गीतमा हृदयस्पर्शी भाव भरेको छ ।
गीतमार्फत गायक कार्कीले समाजमा भइरहेका यस्ता कटु यथार्थलाई चित्रण गर्न खोजिएको बताएका छन् । उनले भने, “गाउँ–घरमा घट्ने यथार्थलाई धेरै गीतमा उतारेको छु, तर ‘धनसिङ्या जिउनुइ छ’ अरुभन्दा फरक र विशेष छ।” साथै उनले सम्पूर्ण दर्शक–श्रोतालाई गीतलाई माया गरिदिन आग्रह गरेका छन् ।



