
डोटी, – ‘लोक संस्कृतिको संरक्षण, पहिचान र प्रवर्द्धन हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित डोटीको सुजङ्ग स्कुल राजपुरले गौरा पूजन, नाच तथा देउडा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रम विद्यालयका कक्षा १० की छात्रा सुश्रीती अवस्थी र सन्ध्या सेटीले सञ्चालन गरेका थिए। स्वागत मन्तव्यका क्रममा शिक्षक बासुदेव जोशीले गौरा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्नु भयो भने प्रधानाध्यापक मानबहादुर कठायतले मौलिक संस्कृतिको जगेर्नामा विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

महिला दिदीबहिनी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले धान, तिल, अपामार्ग, साउँ आदिबाट मानव आकृति बनाएर मागल–फाग गाई गौराघर भित्र्याएका थिए। महिलाहरूले गौरा–महेश्वरको पूजाआजा गरी सेली, विवाह, नाचगान र देउडा प्रस्तुत गर्दै पर्व धुमधामका साथ मनाए। अन्त्यमा गौरालाई परम्परागत रूपमा बिदाइ गरिएको थियो।
व्रतालु महिलाले गौरा–महेश्वरको व्रत बस्दा मनोकामना पूरा हुने, अपुत्रलाई पुत्र, रोगीलाई आरोग्यता ,सुखी जीवन र पतिको दीर्घायु प्राप्त हुने परम्परागत विश्वास रहेको बताएका छन्।
सुदूरपश्चिमका नौ जिल्ला, कर्णालीका अधिकांश जिल्ला र भारतको कुमाउँ–गढ़वाल क्षेत्रमा धुमधामका साथ मनाइने गौरा पर्व सुदूरपश्चिमेली सांस्कृतिक पहिचानको धरोहरको रूपमा लिइने गरिएको छ।



