प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन जनै लगाएकाहरुले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।त्यस्तै तराई क्षेत्रमा दिदिबहिनीहरुले आफ्ना दाजुभाइको नाडीमा राखी बाँध्ने चलन पनि रहेकोछ।