
डडेल्धुरा — आलिताल गाउँपालिकाले युवा सशक्तीकरण र खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले “द्वितीय अध्यक्ष–उपाध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ।
गाउँपालिका कार्यालय आलितालबाट बिहीबार सार्वजनिक सूचनाअनुसार प्रतियोगिता मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म गाउँपालिकाको खेलमैदानमा सञ्चालन हुनेछ। खेलकुदलाई सामाजिक सद्भाव, स्वास्थ्य र प्रतिभा विकाससँग जोड्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा भलिबल (पुरुष तथा महिला) र क्रिकेट (पुरुष) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिला दुवै समूहका विजेता टोलीका लागि समान पुरस्कारको व्यवस्था गरिएको छ।
भलिबलतर्फ प्रथम हुने टोलीलाई रु. ६५,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय टोलीलाई रु. ५२,०००/- र तृतीय टोलीलाई रु. ३९,०००/- नगदसहित सम्मान गरिनेछ। साथै, दुवै समूहका उत्कृष्ट खेलाडीलाई रु. ३,०००/- नगदसहित विशेष पुरस्कार प्रदान गरिनेछ।

क्रिकेटतर्फ विजेता टोलीले रु. ६५,०००/- नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टोलीले रु. ५२,०००/- पाउनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र इमर्जिङ प्लेयरका लागि पनि रु. २,०००/-देखि रु. ३,०००/-सम्म पुरस्कार तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले मंसिर २६ गतेभित्र आवश्यक कागजातसहित आवेदन बुझाउनुपर्नेछ। प्रत्येक टोलीका लागि प्रवेश शुल्क रु. १,५००/- तोकिएको छ, जुन रकम आलिताल गाउँपालिकाको आन्तरिक राजस्व खाता नं. ०६८०१०१७५००४४९, मा जम्मा गरी भौचर संलग्न गरेर आवेदन दिनुपर्नेछ।
भलिबल खेल टेनिस बलमा खेलिनेछ भने क्रिकेटमा प्रत्येक टोलीमा १६ जना खेलाडी र १ जना व्यवस्थापकसहित १७ जना रहने व्यवस्था गरिएको छ। सहभागी खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्नेछ। साथै विद्यालयस्तरका विद्यार्थी, कार्यरत शिक्षक, कर्मचारी वा वडा/संघ/संस्था/क्लबबाट प्रमाणित व्यक्तिहरूलाई मात्र सहभागी हुन अनुमति दिइनेछ।
गाउँपालिकाले खेलकुदलाई गाउँस्तरमै सशक्त माध्यमका रूपमा विकास गर्ने उद्देश्यले यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ। यस कार्यक्रममार्फत युवा पुस्तामा खेलप्रतिको रुचि, शारीरिक स्वास्थ्य र आपसी सद्भाव बढाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अनुसार खेलसम्बन्धी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार आयोजक समितिमा सुरक्षित रहनेछ। प्रतियोगिताले आलितालका स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा र एकता सुदृढ गर्न योगदान पुर्याउने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।



