
डोटी । डोटीको जोरायल गाउँपालिकामा छैटौँ अध्यक्ष कप भलिबल प्रतियोगिता यहीँ कार्तिक १ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता जोरायल गाउँपालिका–३ रावतकट्टेस्थित श्री रत्न आधारभूत विद्यालयको खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा गाउँपालिकाभित्रका सबै वडाबाट प्रतिनिधित्व गर्ने टिमहरू सहभागी हुनेछन्। प्रत्येक वडाले एक टिम छनोट गरी सिफारिससहित पठाउने व्यवस्था गरिएको छ।

टिममा १० जना खेलाडी, १ जना कोच र १ जना व्यवस्थापक गरी कुल १२ जनासम्म सहभागी हुन पाउनेछन्। खेलाडीहरूले सम्बन्धित वडामा स्थायी बसोबास प्रमाणित गर्ने नागरिकता, जन्मदर्ता वा बसोबास प्रमाणपत्र पेस गर्नुपर्नेछ।
टिम दर्ताको अन्तिम मिति असोज ३० गते कार्यालय समयभित्र तोकिएको छ। प्रतियोगितामा विजेता टोलीलाई नगद रु. ४५ हजार, द्वितीयलाई रु. २५ हजार, तृतीयलाई रु. १५ हजार र सान्त्वना टोलीलाई रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीलाई यस प्रतियोगितामा सहभागी नगराइने जनाएको छ। साथै, प्रतियोगिताको सफल सञ्चालन र व्यवस्थापनका लागि सहभागी टोलीहरूले सम्बन्धित वडा कार्यालयसँग समन्वय गर्नुपर्ने जनाइएको छ।



