
डाेटी, कार्तिक ३ – “स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि स्वास्थ्य” भन्ने मूल नाराका साथ जोरायल गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप भलिबल प्रतियोगिता आज सोमबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्तिक १ गतेदेखि ३ गतेसम्म जोरायल गाउँपालिका ३ रावतकट्टेको रत्न आ वि को खेलमैदानमा सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाका सबै ६ वटै वडाका टिमहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेल अन्तर्गत जोरायल गाउँपालिका–१ ले वडा नं. ५ लाई लगातार सोझो तीन सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो।

प्रथम हुने टोलीले रु. ४५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने वडा नं. ५ ले रु. २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने तेस्रो स्थानमा रहने वडा नं. २ ले रु. १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। सान्त्वना पुरस्कार वडा नं. ३ लाई प्रदान गरिएको छ, जसले नगद रु. १० हजार प्राप्त गरेको छ।प्रतियोगितामा वडा नं. १ का हरिकेष बोगटीलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
समापन समारोहमा बोल्दै जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र एकता अभिवृद्धि गर्ने बताउँदै खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर सहयोगी रहने प्रतिवद्धता जनाए।
उपाध्यक्ष जमुना बोहराले खेलकुदमार्फत स्वस्थ जीवनशैली र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष अध्यक्ष कप आयोजना हुँदै आएको बताइन्।
त्यस्तै, गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले खेलकुदले युवाहरूलाई सकारात्मक दिशामा अघि बढाउने प्रेरणा दिने बताएका छन्। उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमै प्रतिभा खोज्न र उनीहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।



