

✍️भुवन ओझा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस काठमाडौं
आज—फेरि रात अलि चाँडै पर्यो,
सायद मेरो मनको अँध्यारो देखेर।
झ्यालबाहिर चन्द्रमा थियो,
तर उज्यालो भित्र पसेन।
तिमीलाई बिर्सिन खोज्दा–खोज्दै
मेरो नाम नै हरायो जस्तो लाग्छ,
किनकि म जति बाँचिरहेको छु,
त्यति नै तिमीभित्र हराइरहेको छु।
कहिलेकाहीँ लाग्छ—
हामी छुट्टिनु नियति थियो भने,
किन यति गहिरो बनायौ यादहरू?
किन यति नजिक ल्यायौ सासहरू?
मेरो तकियाले सबै सुनेको छ,
मुटुले दबाएर रोएका रातहरू।
आँखाले थामेका आँसुहरू,
ओठले नस्वीकारेका सत्यहरू।
तिमी अब अरूकै साथ हाँस्छ्यौ होला,
र म यहाँ—
तिम्रो पुरानो सन्देश पढ्दै
आफ्नै कमजोरी गन्दै बस्छु।
थाहा छ, तिमी फर्किन्नौ।
थाहा छ, त्यो बाटो बन्द भइसक्यो।
तर मुटु भने अझै ढोका खोलेर बस्छ,
कुनै चमत्कारको प्रतीक्षामा।
माया सायद छोड्नु नै पर्छ भन्छन्,
तर कसरी छोडूँ
जब मेरो आधा अस्तित्व
अझै तिमीभित्र कैद छ?
यदि भुल्नु नै उपचार हो भने,
म सायद निको हुन चाहन्नँ।
किनकि यो पीडा पनि
तिमीले दिएको अन्तिम उपहार हो।



