हेमन्त जोशी,
कैलाली। गौरीगंगा नगरपालिका–६, बनबेहडा, कैलाली स्थित श्री अमर माध्यमिक विद्यालय गौरीगंगा नगरपालिका वडा नं-६,बनबेहडा,कैलालीको प्रधानाध्यापक पदमा राधा कुमारी कुँवर खड्का नियुक्त हुनुभएको छ। उहाँ प्राथमिक तह (प्रा.वि.) तृतीय श्रेणीमा स्थायी शिक्षकका रूपमा कार्यरत रहनुभएको थियो।
प्रधानाध्यापकको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएकी खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित,अनुशासित र उपलब्धिमूलक बनाउँदै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य राख्नुभएको छ। साथै शिक्षक,विद्यार्थी,अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायबीच आपसी समन्वय,सहकार्य र विश्वासको वातावरण निर्माण गरी विद्यालयको समग्र विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विद्यालयको शैक्षिक उपलब्धि सुधार,विद्यार्थीको प्रतिभा र क्षमताको पहिचान,नियमित पठनपाठन,शिक्षकको जिम्मेवारीप्रतिको उत्तरदायित्व तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई उहाँले प्राथमिकताका विषयका रूपमा अघि सार्नुभएको छ।
विद्यालयको विकास सबैको साझा प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै सबै सरोकारवालाको साझा साथ,सहयोग र सकारात्मक भूमिकाले मात्र शैक्षिक संस्थालाई उत्कृष्टताको दिशामा अघि बढाउन सकिने उहाँको धारणा रहेको छ।
स्थानीय समुदायको शैक्षिक पहिचानसँग जोडिएको श्री अमर माध्यमिक विद्यालयलाई गुणस्तरीय,प्रतिस्पर्धी र नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने अपेक्षासहित उहाँको नेतृत्वलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
यसैबीच नवनियुक्त प्रधानाध्यापक राधा कुमारी कुँवर खड्काज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, व्यवस्थापकीय दक्षता र संस्थागत प्रतिष्ठाका क्षेत्रमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।



