
विद्धुतीय दुर्घटना न्यूनीकरणका लागि डोटीको दिपायल पिपल्ला बजारमा नाङ्गो तार विस्थापन गर्ने कार्य धमाधम भइरहेको छ।। नेपाल विद्धुत प्राधिकरणले बजारमा नाङ्गो तारलाई विस्थापन गरी प्लास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ।

दिन प्रतिदिन चहलपहल बढिरहेको तथा घना बस्ती रहेको पिपल्ला बजार क्षेत्रमा नाङ्गो तारका कारण विद्धुत सट भई दुर्घटना हुने गरेकाले नाङ्गो तारलाई विस्थापन गरी प्लास्टिक जडित इन्सुलीटेड केवल तार प्रयोग गरिएको नेपाल विद्धुत वितरण केन्द्र दिपायलका कार्यालय प्रमुख शिव शंकर सोनीले बताए । उनका अनुसार नयाँ तारबाट वितरण हुने विद्धुत चुवावटको समस्या धेरै कम हुने भएका कारण पनि तत्काल बजारभित्रको पुरानो वितरण लाइन विस्थापन गरिने उनले बताए ।

नेपाल विद्धुत प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार पिपल्ला बजारमा खतरामुक्त तारजडानको काम भइरहेको हो । प्लास्टिकले बेरिएको तारको प्रयोगबाट विद्धुत चुहावट हट्ने साथै हावाहुरी लाग्दा र पोल ढल्दा दुर्घटना न्यून हुने बिद्धुत कार्यालयले विश्वास लिएको छ । अव्यवस्थित नाङ्गो तारले गर्दा बजार उच्च जोखिममा थियो। साथै विद्धुत प्राधिकरणले मर्मत सम्भारका लागि सास्ती खेप्नु परेको थियो। विद्धुतप्रति सर्वसाधारणको गुनासो बढिरहेको समयमा नयाँ व्यवस्थापन गर्न थालिएपछि स्थानीय खुसी भएका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अशोक बरालले बताए ।
