डिभिजन सडक जनचेतनामूलक सन्देश

सम्झानामा नौट साहू…

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

✍️तीर्थराज भट्ट,( शिक्षक तथा साहित्यकार )-जोरायल गाउँपालिका ३ बेल्टुक्रा डोटी ।

जैसो पिणाउँ पात पानी, तैसो मानिस जियडो

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

परम्परागत रूपमा चल्दै आएका सभ्य संस्कारहरू तथा सुन्दर मानवीय व्यवहारहरू नै हाम्रा संस्कृतिहरू हुन् । यिनै संस्कृतिले नै मानवको अस्तित्व उच्च स्थानमा पुर्याउने काम गरेका छन् । लोक संस्कृतिकै सेरोफेरो तथा लोक जीवनका परिवेशहरूमा गुञ्जिने सुमधुर लय, सरल र सहज काव्यिक धाराप्रवाह तथा लोकजीवन शैलीकै भावहरूले ओतप्रोत लौकिक र अलौकिक कथा कहानीहरू नै लोकसाहित्य हुन् । शुभकार्य गर्दा होस् या मेलापात गर्दा परिस्थिति अनकूलका सान्दर्भिक लोक साहित्यका विशिष्टि दृष्टान्तहरू पर्याप्त मात्रामा पाइन्छन्, लोक जनजीवनमा ।

एक पिँढीबाट अर्को पिँढीमा मौखिक रूपमा सर्दै आएको लोकसाहित्य लेख्यमा भने पूर्ण रूपमा अझै आइसकेको छैन । त्यस्तै जोरायलमा पनि अथाह अलिखित साहित्य छ, स्रष्टा र स्रजकहरू छन् । सिर्जनाका लागि प्राकृतिक पर्यावरण तथा वातावरणीय अनुकूलता छ । प्राचीन सभ्यताका शील्पकला र ऐतिहासिक परिदृष्यहरू सबैका नजरमा छन् । जहाँ भीमक्षेदन शीला छ, द्रोपती चौतारो छ, बरम छहरा छ, सिङ्गो पाण्डवकालीन इतिहास छ र बाइसे चौबीसे राज्यका भग्नावशेष कोटहरू छन् । अनेक खोलानाला छन, मैदानी भूभाग छ र हरियो जङ्गल छ । हरियो जङ्गलभित्र लालीगुराँस मात्रै फुल्दैनन्, पल्लवीको कोखमा कोइली मात्रै गीत गाँउदैनन् त्यहाँ स्वतन्त्र तरिकाले स्रजकहरू खुल्दछन्  र सिर्जनाहरू फुल्दछन् । तीमध्ये केही सिर्जना स्रजकको अनुपस्थितिमा पनि वषौँसम्म सुगन्ध दिइरहेका हुन्छन्, बेलाबेला सबैका मनमा छाइरहेका हुन्छन्, तिनैमध्येका एक प्रतिष्ठित व्यक्ति हुन् नौटे साहू अर्थात् टीकासिँह साहू ।

जोरायलको प्रकृतिसँगै लडिबुडी खेल्दै अरूभन्दा पृथक सामाजिक आर्दश बोक्न सफल, टीकासिँ साहूको जन्म वि.स. १९८२ साल कार्तिक महिनाको २६ गते विहिबारका दिन भएको हो । जोरायल गा.पा. ४ अर्थात् सविक ठेगाना लक्ष्मीनगर गा.वि.स. वडा–१ सौघाट जोरायल डोटीले आफ्नो काखमा एक असल सुपुत्र जन्मायो, त्यसै  धर्तीले हुर्कायो खेलायो र लोक गीतको महानायक बनायो, टीकासिँ साहूलाई । बुवा स्वर्गीय कमलसिँ साहू र आमा स्वर्गीय विन्दादेवी साहूका एक मात्र छोरा टीकासिँ साहूले औपचारिक शिक्षाको अवसर पाउन सकेनन् । ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मिएका साहूको बाल्यकाल आमा बुवाका स्नेहले सुखद र उल्लासमय रह्यो । सायद लाग्छ, उहाँले पनि हामीजस्तै बाल चञ्चले स्वभावका साथ ‘लुक्का खोज’ खेल्नु भयो होला, ‘भात्तिकुत्ती’ खेल्नु भयो होला  र सौघाटका डाँडाकाडा त कैलै कर्मनाशाका बगरमा रमाउनु भए होला  ।

सानो उमेरमा गाई बाख्रा चराउँदै वनमा गीतहरू गाइरहने साहूले तिनै वनका वनचरीहरूसँग प्रतिस्पर्धा गर्नु भयो त कहिले काफलको रूखमा बसेर कोकिलसँग आवाज मिसाउन पुग्नु भयो । यसरी प्रकृतिका पुष्पगुच्छालाई मनले स्पर्श गर्दै डेउडा गीतका लयात्मक डाकाहरू प्रस्फुटित गराई आफूलाई सफल आँशुकविका रूपमा चिनाउन सफल हुनु भयो । आमा बुवाको प्रेरणा हौसला र आशीर्वादले लोकसंस्कृतिको खोजी, उत्थान र मिठो प्रस्तुतिमा जुट्नु भयो । जोरायलको प्राकृतिक भूबनोट, त्यहाँको सामाजिक रीतिस्थिति, चालचलन परम्परा र वेशभूषा उहाँको लागी शिक्षा हासिल गर्ने विश्वविद्यालय बने र बाकसमा सुहाउने नाशवान कागजका प्रमाणपत्रहरू दिनुको साँटो व्यवहारिक ज्ञानको उत्कृष्ट सकारात्मक प्रभाव र जिम्मेवारी उहाँ माथि सुम्पिदियो । जुन प्रभाव जीवन्त रहिरहने छ ।

गाई चराउने बखत गीत गुन्गुनाउन सुरू गर्नु भएको उहाँले २०१६ सालेखि डेउडा नायक बनी आफ्नो सँस्कृतिको सान र पहिचानलाई उच्चस्थानमा राख्ने कोशिस गर्नुभयो । वि.स. २०१६ साल चैत्र मसान्त अर्थात् बिसौँका दिनमा सरस्वतीनगर–५ चनकट्टे स्थित चण्डेश्वरको मन्दिरमा प्रत्येक वर्ष लाग्ने नियमित मेलामा खेलिएको डेउडा खेलमा एकपक्षका नायक भई पहिलो पटक स्वर्गीय कालु मल्लसँग डेउडा दोहोरी खेलेको, भनी उहाँले भन्नु भएको कुरा मलाई स्मरण छ । वि.स.२०१६ सालदेखि २०७२ सम्म निरन्तर देउडा दोहोरीमा जुझ्नुका साथै विभिन्न शुभमुहुर्तमा गाइने तथा खेलिने चैत, धमारी, ढुष्को, भोलाउला र होरीजस्ता लोकगाथा बोकेका विशिष्ट पहिचान झल्काउने खेलमा उहाँकै योगदान र भूमिका रहँदै आएको थियो ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

विशेषतः गमराखेलमा र छैँटीमा उहाँको खोजी हुने गथ्र्यो । कयौँ पुस्ता पहिले रचना गरिएका लोकगाथाका सुसेलीहरू एक पिँढीले अर्को पिँढीलाई हस्तान्त्रण गर्दै हालसम्म कथ्यमै सीमित र जीवित पनि रहेका छन् । यद्यपि वर्तमान अवस्थामा भने हस्तान्तरणको गति असहज र दुर्लभ बन्दैछ, यसको एक मात्र कारण आफ्नो पहिचानलाई छोडेर अर्काको सिको गर्ने प्रवृतिको मानवीय मनोकांक्षा हो । भविष्यमा यी सामाजिक सद्भावका उत्कृष्ट काव्यिक चेतना रहलान् वा नरहलान् तर आजको पिँढीसम्म पुर्याउने काम अथवा आफू बाँचुन्जेल लोकगाथाको सफल नेतृत्व टिकासिँ साहूले गर्नु भएको थियो । उहाँजस्ताहरूको निधन र वर्तमान नवपुस्तामा चाँसोका अभावले हाम्रो संस्कृतिका झाँकीहरु धरापमा पर्ने देखिन्छन् । अब लोकसंस्कृतिले आफै साहूजस्तै जोशजाँगर बोकेका व्यक्तिलाई आफ्नो मुखपात्रकारूपमा खोज्नु पर्दछ ।

शारीरिक र मानसिक रूपमा उमेरगत समस्याका कारण कमजोर देखिएको समयमा पनि साहू लोकगाथामा बलिया र स्फूर्त हुनुहुन्थ्यो  । आफू बाँचुञ्जेल उहाँले  जोरायलको कुनै पनि ठाँउमा ‘मोडी’ को अभाव हुन दिनु भइको थिएन । वृद्ध शरीरमा गमरा आउने बित्तिकै जोश, रहर र उत्साह छाउँथ्यो, जसप्रति लेक सँस्कृति खुशी छ, हामी खुशी थियौँ र छौँ पनि । २०१६ सालदेखि  ५० /६० जनासँग डेउडा दोहारी खेल्नुका साथै साहूले जोरायल बाहिरका विभिन्न स्थानमा लोकगाथाको पक्ष वकालत गर्नु भएको थियो । पहिलो पटक उपरकोटका कालु मल्लसँग खेलेको दोहोरीको प्रभावले स्रोता र अन्य गीतारू प्रभावित भए पश्चात उहाँ, तमाम खेलहरूमा प्रभुत्व जमाउन सफल हुनुभयो । उहाँको निधन हुनुभन्दा करिव दुई वर्ष अगाडि उहाँकै घरमा भेट्न पाउँदा केही कुराहरू जान्न पाएको थिएँ । त्यति बेलाको  साहूको वृद्ध  दिमागले स्मरण गर्न सकेका उहाँका प्रतिस्पर्धी (डेउडा दोहरीमा)लाई मात्र लिने हो भने पनि लामो सूची नै बन्दछ् । पिणायलका सल्लकोटी, कोलाका भजनसिँ बोहरा, गडसेराका जग्गे देउवा, ठुलाढुङ्गाका तरूवालुवार, कोटेलीका भग्ने भट्ट, खारका दलबहादुर बोहरा, जिजिकोटका तारा खड्का, बुडरका नारायण ओझा, भजनाका नरी साँउद, ग्वान्नीका भवानी बोहरा, सुनलेकका दानसिँ मल्ल, अवस्थी गाँउका गंगाराम अवस्थी, त्यस्तै देउसिँ बोहरा, लक्ष्मणसिँ बोगटी, जगत कपड्याल, तिलक खड्कालगायतका दर्जनौँ परिचित तथा अपरिचित डेउडेसँग डेउडाका सवाल जवाफमा सहभागी हुनु भएको थियो टीकासिँ साहू । यसबाहेक तमाम नारी पात्रसँग पनि डेउडामा जुझ्नु भएको कुरा अन्य व्यक्ति र उहाँ आफैबाट पनि थाहा त भयो तर उहाँले नारी पात्रको नाम लिन र त्यस बारेमा कुरा गर्न भने नरुचाएको कुरा मलाई स्मरण छ ।

डेउडा दोहोरीमा भन्दा गमराका गीत, चैत, धुमारी, दुष्को र भोलाउलोका ज्ञाता साहूले जोरायलको मौलिक संस्कृति जगेर्नामा ठुलो योगदान पुर्याएको जस पाउनु भएको छ । खेल खेल्ने क्रममै गीतको शब्द तथा लय तुरून्तै याद गर्न सक्ने बलियो स्मरण शक्तिका साहूले रतनसिँ कपड्याल, सोभानासिँ कपड्याल, विष्णा पुजारी, महासिँ साउँदजस्ता व्यक्तिबाट प्रेरित भई ज्ञानार्जन गर्नु भएको थियो । गीत सिकाउनमा उल्लेखित व्यक्तिले कुनै प्रयास नगर्दै आफै खेल्ने क्रममै गीत कण्ठस्त भएको र २०१७ को गमरादेखि गीत हाल्न सुरू गरेको कुरा उहाँले भन्नु भएको थियो । २०१७ देखि  विभिन्न स्थानमा  ‘मोडी’ को भूमिका निर्वाह गरी सम्मान प्राप्त गर्नु भएको थियो । जोरायलमा सुपरिचित भई प्रसिद्धता पाउनु र जोरायलवाहेक अन्य स्थानमा आफ्नो प्रतिभा देखाउनुले जोरायलको पनि गर्व बढेको  कुरा स्पष्ट हुन्छ । टीकासिँ साहूले विभिन्न गाँउ–गाँउमा सँस्कृतिको सचेतनात्मक सन्देश फिजाउनु भएको थियो, जो अजर र अमर रहिरहनेछ  ।

लोक साहित्यमा अथाह ज्ञान छ, रोचक प्रेरक कहानी छन् सत्यको विजय छ, मानवीय सदभावका तरङ्गहरू तरङ्गित छन् , दुष्प्रवृत्तिलाई निरुत्साहित गर्ने शब्दशक्ति छ, सुखदुःखको कारण र निवारण छ, देवगणप्रति विश्वास छ, सफल पात्रको जीवनलीला छ एवम् प्रकारका उत्कृष्ट धार्मिक ज्ञानलहरीका श्रृङखलाहरू छन् । यिनै कुराहरूकोे बोध गराउन टीकासिँ साहू गाँउ गाउँ पुग्नु भएको थियो । निरौली, गोदावरी, खैराना, झन्झटपुर, लालपुर, किचाई, भुयरा, हाट, उपरकोट, अवस्थीगाँउ, धनरास, ढणकट्टे, काफली, गोल्ला, पिपलकोट आदि डोटी र कैलालीका विभिन्न स्थानमा टीकासिँ साहू पुग्नु भएको थियो, लोक साँस्कृति जगेर्नाको अभिभारा बोकेर । उहाँ नव सिकारूका लागी प्रेरणाका स्रोत, ज्ञानका भण्डार र असल गुरू हुनुहुन्थ्यो ।

टीकासिँ साहूले जीवनका अनेक सङ्घर्षहरूलाई सार्थक बनाएका र चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गरकोे भेटिन्छ । प्रतिकूल वातावरणमा पनि कार्य सफल पार्न सक्नु वा टिक्न सक्नु नै महानता हो । उहाँले आफ्नो जैवनिक मोडका विषम परिस्थितिमा पनि लोक संस्कृतिको बाटो बिराउनु भएन । २००१ सालमा वैवाहिक बन्धनमा बाँधिएका साहूलाई केही वर्ष नबित्दै पत्नी वियोगको पीडा आइपर्नु, पुत्र वियोग हुनु, कन्यादान गरेकी छोरीको मृत्यु हुनुजस्ता उहाँको जीवनका दुःखद घटनाहरू थिए भने लोकसाहित्यकै वकालत तथा ‘गीतु’ को भूमिकामा जाने क्रममा वृद्धावस्थाले गर्दा भीरमा लड्नु र केही दिन थला पर्नु अर्को दुःखद घटना थियो । जे होस् लोकसंस्कृतिको आशीर्वादले दोस्रो विवाहबाट राम्रो परिवारिक संरचना र सुख समृद्धि एवम् उन्नति  देखिनु अत्यन्तै खुशीको पक्ष थियो । उहाँ जोरायलको इतिहासमा पनि विज्ञ हुनुहुन्थ्यो । विभिन्न देवी–देवताको उत्पति, शक्ति र सम्बन्ध बारेका लोकोक्ति एवम् किंवदन्ती उहाँको मस्तिष्कमा सुरक्षित थिए । यी रोचक प्रसंग, ज्ञानात्मक धार्मिक सन्दर्भ र पुर्खाको इतिहास सबैले थाहा पाउनु जरूरी छ ।

लोकसाहित्य, इतिहास र पौराणिक कथनले सम्पन्न आँशुकवि टीकासिँ साहूलाई राष्ट्रले चिनेन, चिन्नेले पनि उचित मार्गदर्शन गरेनन् र राष्ट्रियस्तरको प्रतिभा जोरायलको कन्दरा भित्रै गुम्सिरह्यो । टीकासिँ साहूले गाउँदै आएका लोकगीतहरूकोे सङ्कलनको पनि प्रयास भएको त पाइन्छ यद्यपि सर्वसुलभ र पर्याप्त भने होइन । वि.स. २०६७ सालमा ६/७ ओटा कम्प्युटर टाइपिङ प्रतिहरू सुरक्षित पारिएका छन् । लक्ष्मीनगर निवासी दीर्घराज ओझाज्यूले साहूका गीतहरू सङ्कलन गरी सुरक्षित राखिदिएका हुन् । दीर्घराज ओझा स्वयम् आफू पनि लोकसंस्कृतिप्रति मोह माया र विश्वास राख्ने व्यक्ति हुन भन्ने कुरा उहाँकै घर आगनमा खेलिने गमराका खेलहरूबाट थाहा पाइन्छ । जे होस् उहाँले कथ्यमै सीमित गीतहरूलाई लेख्यरूपमा राख्नु सबैका लागी लाभदायिक कुरा हो ।

लोकसाहित्यका ज्ञाता, आशुकवि एवम् जोरायली इतिहासका जानकारक टीकासिँ साहू जोरायलका सुपुत्र र लोक साँस्कृतिका धरोहर हुनुहुन्थ्यो । उहाँको खोजी गर्नु लोकसंस्कृतिको खोजी गर्नु हो । कसैले उहाँको जीवनशैली भेटाउनु मौलिक संस्कारलाई भेट्टाउनु हो । उहाँको सम्मान गर्नु लोकपरम्पराको मान मर्यादा राख्नु हो । लोकसाहित्य, इतिहास तथा पैराणिक कथामा कण्ठस्त भएको उहाँको पाको बोलीमा सुमधुर मिठासका साथै उपयोगी  अर्ती उपदेशहरू प्राप्त गर्न सकिन्थ्यो । ती उपदेशलाई कार्यान्वयन गर्नसके जीवन सार्थक छ । उहाँको भौतिक शरीर नरहे पनि जोरायलका अनुकरणीय तथा प्रशंसनीय व्यक्तित्व टीकासिँ साहूलाई जोरायलले नबिर्सोस् । ज्वालादेवी, चण्डेश्वर, घण्टेश्वर तथा गमरा माताको  आशीर्वादले लाखौँ वर्ष उहाँको योगदान जोरायली माटोमा जीवित रहोस् ।

‘जैसो पिणाउँ पात पानी तैसो मानिस जियडो’ भनी बारमासे खेल खेलाइरहने जोरायली संस्कृतविद् तथा आशुकवि टीकासिँ साहूको ९२ वर्षको उमेरमा वि.स. २०७३ मंसिर ७ गतेका दिन भएको निधनले लोक संस्कृति, डेउडा साहित्य एवम् सम्पूर्ण संस्कृतिप्रेमीलाई दुखी बनाएको छ ।  मान्छेको जीवन मराइको आधारमा निर्धारण हुने गर्छ । सत्कर्म गर्नेको मृत्यु पछि पनि नौलो जीवनको शुरुवात हुने गर्दछ । त्यस्तै साहूले पनि नौलो जीवन प्राप्त गरेका छन् । लोक संस्कृतिप्रति गरेको कर्मले उहाँ सधै अमर र अजर रहिरहनु हुनेछ । यद्यपि साहूको निधनले लोक संस्कृतिको क्षेत्रमा भएको क्षतिलाई भने बिर्सन सकिन्न ।

(लेखक भट्ट युवा साहित्यकार हुन ।उनक विभिन्न साहित्यिक कृतिहरु प्रकाशन भएका छन ।उनले डोटेली सहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । हाल भट्ट विन्ध्यवासिनी मा.वि, दर्ना, अछाममा शिक्षक छ्न  । )

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.