धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा एक जना अभियुक्तलाई काठमाडौँको कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार शाहीलाई शुक्रबार पक्राउ गरी विमानमार्फत धनगढी ल्याइएको छ।

२३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा भएको बडुवालको हत्यापछि अनुसन्धानका क्रममा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य अभियुक्त नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो।
अभियुक्तमध्ये हालसम्म १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर, मुद्दाको अन्तिम फैसला भने हुन सकेको छैन। पटक–पटक पेशी तोकिए पनि हालसम्म अन्तिम सुनवाई स्थगित हुँदै आएको छ।प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान जारी रहेको छ।



