
डोटी, जोरायल — हरियाली अभियान प्रालि माथि डोटीमा ठगीको आशंका गरिएको छ। नयाँ बानेश्वर काठमाडौमा कार्यालय र अध्यक्ष शरद सिंह भण्डारी रहेको भनिएको यस संस्थाले डोटीको जोरायलमा “डोटी जोरायल हरियाली प्राकृतिक कृषि परियोजना” सञ्चालन गर्ने भन्दै विज्ञापन मार्फत ४० जना व्यावसायिक परिचालक माग गरिएको थियो।
परियोजना अनुसार किसानलाई मल, बीउ, प्राविधिक सहयोग, उन्नत कृषि तालिम तथा आधुनिक प्रविधि उपलब्ध गराइने योजना बताएको थियो। सो उद्देश्यका लागि २०८१ जेठ २६ देखि २८ गतेसम्म जोरायलमा ३ दिने व्यावसायिक परिचालक प्राविधिक तालिम सञ्चालन गरिएको र त्यसपछि प्रत्येक ब्यक्तिबाट “सेयर शुल्क” शीर्षकमा रु. ८ हजार उठाइएको पीडितहरूले बताएका छन्।
तालिम सम्पन्न गरेपछि ती व्यवसायीक परिचालकलाई गाउँमा कृषक समूह गठन गर्न पठाइए पनि १ बर्ष बितिसक्दा समेत परियोजनाले भने अनुसार समूह दर्ता तथा कार्यक्रम सञ्चालनका लागि कुनै पहल नगरेको आरोप छ।

व्यावसायिक परिचालक तथा पीडित सुरत बोहराले हाम्रो अठोटखबरसँग भने, “हामीलाई आकर्षक योजना र आश्वासन देखाएर रकम संकलन गरियो। हामीले गाउँमा समूह गठन गर्यौं, तर त्यसपछि परियोजना मौन बस्यो। १ बर्ष भन्दा बढी भइ सक्यो अहिले त सम्पर्क गर्न खोज्दा संस्थाका अध्यक्ष भण्डारीको फोनसमेत उठ्दैन ।”
जोरायल क्षेत्रका परियोजना प्रमुख सुरेन्द्र बी.क.ले पनि आफू यस प्रालिबाट पीडित भएको बताए। उनका अनुसार ४० जना ब्यक्तिबाट संकलित रकम परियोजनाको खातामा जम्मा भएको र तालिम सम्पन्न गरिए पनि त्यसपछि कुनै कार्य अगाडि बढ्न नसकेको स्वीकारोक्ति गरे।
यस विषयमा बुझ्न हाम्रो अठोटखबरले अध्यक्ष शरद सिंह भण्डारीलाई पटक–पटक फोन र म्यासेजमार्फत सम्पर्क गर्ने प्रयास गरे पनि उहाँले फोन नउठाएको र पठाइएका म्यासेजको प्रतिउत्तर समेत आएको छैन।
पीडितहरूले तत्काल रकम फिर्ता गर्न वा कार्यक्रम सुरु गर्न चेतावनी दिँदै, तत्काल यसो नगरिएमा ठगी भएको आवस्यक प्रमाण सहित संस्थाको विरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।



