
डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीस्थित गैरा गाखेत ग्रामीण सडकमा हिँडिरहेका एक युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

डोटी जिल्लाको जोरायल गाउँपालिका–३ ओझागाउँ बस्ने २२ वर्षीय जितेन्द्र खत्रीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमका अनुसार खत्रीलाई शंका लागि चेकजाँच गर्दा खैरो हेरोइनजस्तो देखिने ०.६५ मिलिग्राम धुलो पदार्थ (शुद्ध तौल ०.४३ मिलिग्राम) बरामद गरिएको छ। उक्त पदार्थ ५ रुपैयाँको नोटभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा भेटिएको थियो।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।


