
डोटी । डोटीमा गोब्रे च्याउको व्यवसायिक उत्पादन सुरु भएको छ। कृषि ज्ञान केन्द्र डोटीले गत वर्ष सफल परीक्षण गरेपछि यस वर्ष जिल्लाभित्रै यसको व्यवसायिक खेती प्रवर्द्धन गर्न किसानहरूलाई प्रोत्साहित गरिरहेको छ। जिल्लाका कृषकहरूलाई आत्मनिर्भर बनाउन तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले केन्द्रले गोब्रे च्याउ खेतीमा सहजीकरण गर्दै आएको छ।
दिपायल सिलगढी नगरपालिका–५ का अगुवा कृषक जयबहादुर शाहीले कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग र अनुदानको सहारामा गोब्रे च्याउको व्यावसायिक खेती सुरु गरेको बताए । उनले आफ्नै जग्गामा यसको उत्पादन थालेका छन्, यसबाट राम्रो आम्दानी हुने बिश्वास गरेकाछन।


कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार गोब्रे च्याउ अन्य च्याउको तुलनामा बढी समयसम्म टिक्ने, पौष्टिकतामा धनी हुने र बजारमा राम्रो मूल्य पाउने भएकाले यसको व्यवसायिक उत्पादनलाई प्रवर्द्धन गरिएको हो। उनले बजारमा होटल तथा रेस्टुरेन्टहरूमा यसको माग उच्च भएकाले उत्पादन बढाउन सकिने सम्भावना रहेको बताए।
गोब्रे च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स र फाइबर पर्याप्त मात्रामा पाइने भएकाले यो स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। स्थानीय बजारमा गोब्रे च्याउको उत्पादन सुरु भएसँगै अब उपभोक्ताले ताजा च्याउ पाउने छन्। कन्ये च्याउ जस्तै उपभोग गर्न मिल्ने यो च्याउ मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडा लगायतका परिकार बनाउनका लागि उपयुक्त मानिन्छ।
हालसम्म डोटीमा उपभोग हुने गोब्रे च्याउ बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता थियो। अब स्थानीय स्तरमै उत्पादन सुरु भएपछि जिल्लाका कृषकहरू यसबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
कृषि ज्ञान केन्द्रले किसानहरूलाई उत्पादन विस्तारका लागि आवश्यक तालिम, प्राविधिक ज्ञान र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। उत्पादनलाई अझै व्यावसायिक रूपमा विस्तार गर्न सकिएमा च्याउखेती डोटीका कृषकहरूका लागि आम्दानीको राम्रो स्रोत बन्न सक्ने कृषि ज्ञान केन्द्रको विश्वास छ।



