उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम जोरायलमा सम्पन्न


डोटी, जोरायल। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को सहयोग तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको सहलगानीमा सञ्चालन हुने उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (Resilient High Value Agricultural Programme–R-HVAP) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आज जोरायल गाउँपालिकामा सम्पन्न भएको छ।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कृषि तथा पशु शाखा प्रमुखहरू तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रम R-HVAP सुदूरपश्चिम कार्यक्रम व्यवस्थापक गंगा दत्त अवस्थीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा R-HVAP को लक्ष्य, उद्देश्य, कार्यान्वयन प्रक्रिया, लाभग्राही छनोट, सहलगानी व्यवस्था, कृषि उद्यमशीलता विकास, कृषि पूर्वाधार निर्माण तथा बजार व्यवस्थापनका विविध पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम व्यवस्थापक गंगा दत्त अवस्थीले प्रस्तुतिकरणमार्फत साना किसान परिवारहरूको उत्थानशीलता अभिवृद्धि गरी गरिबी न्यूनीकरण गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए। उनले साना किसानको कृषि प्रणालीलाई नाफामुखी, समावेशी तथा वातावरणमैत्री बनाउँदै दिगो खाद्य प्रणालीतर्फ रूपान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिए।

उनका अनुसार कार्यक्रमबाट करिब ६० हजार घरधुरी (२ लाख ५८ हजारभन्दा बढी जनसंख्या) लाभान्वित हुने अपेक्षा गरिएको छ। तीमध्ये ४५ हजार घरधुरी बजारमुखी कृषि पारिस्थितिकीय उत्पादन प्याकेजबाट लाभान्वित हुनेछन् भने १५ हजार घरधुरीले क्षमता अभिवृद्धि, कृषि प्रसार सेवा, प्रदर्शन फार्म, बजार तथा सेवा सञ्जाल तथा सार्वजनिक पूर्वाधारमार्फत प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्।
कार्यक्रमले विशेषगरी गरिब, अति गरिब, महिला, युवा, विदेशबाट फर्किएका नागरिक तथा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राख्दै कृषि उत्पादन, प्रशोधन, बजारीकरण तथा उद्यमशीलता विकासमा विशेष जोड दिनेछ। कार्यक्रममा महिलाको सहभागिता कम्तीमा ५० प्रतिशत तथा युवाको सहभागिता ४० प्रतिशत सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउने दिशामा R-HVAP जस्ता कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए। उनले कृषि क्षेत्रमै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै आधुनिक प्रविधि, सीप, लगानी र बजारसँग किसानलाई जोड्न सके ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा व्यक्त गरे। अध्यक्ष ओझाले स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रस्तुतिकरणका क्रममा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र लुम्बिनी प्रदेशका ८० स्थानीय तहमा कार्यान्वयन हुने बहुपक्षीय कृषि विकास कार्यक्रम भएको जानकारी गराइएको थियो। IFAD, नेपाल सरकार, सम्बन्धित प्रदेश सरकारहरू तथा स्थानीय तहहरूको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले ग्रामीण क्षेत्रको कृषि प्रणालीलाई थप व्यवसायिक, प्रतिस्पर्धी र जलवायु उत्थानशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम अन्तर्गत कृषि पारिस्थितिकीय उत्पादन प्रवर्द्धन, कृषि प्राविधिक क्षमता विकास, युवा उद्यमशीलता प्रवर्द्धन, सिंचाइ तथा बजार पूर्वाधार निर्माण, कृषि उत्पादनको प्रशोधन र बजारीकरण, नवीकरणीय ऊर्जाको प्रयोग तथा नीतिगत सुदृढीकरणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरिने जानकारी दिइएको थियो।
कार्यक्रमले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ग्रामीण समुदायको कृषि उत्पादन वृद्धि, आयआर्जन विस्तार, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण, जलवायु अनुकूलन तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।


