
डोटी । सुन्तलाजात फलफुल जोन अन्तर्गत जिल्लास्तरीय सुन्तलाजात फलफुल खेती उन्नत प्रविधि सम्बन्धी तीनदिने तालिम बडीकेदार गाउँपालिकामा सम्पन्न भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुराको आयोजनामा २०८२ साल माघ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको तालिमको समापन सत्र मङ्गलबार बडीकेदार गाउँपालिकाको तालिम हल, खड्यौलीमा सम्पन्न भएको हो।
समापन सत्रको अध्यक्षता श्री पिताम्बर बस्नेत, प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुराले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा श्री शेर बहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत, बडीकेदार गाउँपालिका, डोटी रहनुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि श्री देवराज अधिकारी, प्रमुख प्रशिक्षक तथा वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नवलपरासी पूर्व रहनुभएको थियो। अतिथिहरूमा सिला बस्याल, कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुरा तथा भावना बोगटी, प्रमुख, कृषि विकास शाखा, बडीकेदार गाउँपालिका, डोटी रहनुभएको थियो।
तालिममा बडीकेदार गाउँपालिकाका कार्यलयका प्राविधिकहरूका साथै सुन्तलाजात फलफुल खेती गरिरहेका जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोक्टान फुड्सिल गाउँपालिकाका २१ जना उद्यमी कृषक गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सुन्तलाजात फलफुल खेतीमा प्रयोग हुने उन्नत प्रविधि, रोग–कीरा व्यवस्थापन, उत्पादन वृद्धि, बगैंचा व्यवस्थापन तथा बजारिकरणका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।



