डोटी ।डोटीको जोरायलमा उत्पादन हुने बास्नादार ‘जोरायल बासमती’ चामलको उत्पादन, ब्रान्डिङ तथा बजारीकरणलाई व्यवस्थित गर्दै यसको व्यावसायीकरणमार्फत किसानको आम्दानी बढाउने विषयमा विभिन्न सरोकारवालाबीच छलफल भएको छ।
आज सोमबार जोरायल गाउँपालिकाको कार्यालयमा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमअन्तर्गत कार्यक्रम सम्पन्न भएको हो। जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा, RHVAP सुदूरपश्चिम प्रदेश प्रादेशिक कार्यालयका प्रमुख गंगा दत्त अवस्थी तथा अन्य प्रतिनिधि, विभिन्न विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, मुक्तिनाथ कृषि कम्पनीका प्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधि, मिल सञ्चालक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।


जोरायलमा उत्पादन हुने बास्नादार जोरायल बासमती आफ्नो स्वाद, सुगन्ध र स्थानीय विशेषताका कारण डोटी हुँदै नेपालभरि परिचित हुँदै गएको स्थानीय उत्पादनका रूपमा लिइन्छ। परम्परागत रूपमा किसानले उत्पादन गर्दै आएको यस बासमतीलाई आधुनिक प्रविधि र व्यवस्थित कृषि प्रणालीसँग जोड्दै उत्पादन वृद्धि, गुणस्तर कायम, ब्रान्डिङ तथा बजार विस्तार गर्न सके जोरायलको कृषि क्षेत्रको महत्वपूर्ण आम्दानीको स्रोत बन्न सक्नेमा कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा जोरायल बासमतीको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने, गुणस्तरीय बीउ तथा उत्पादन प्रणालीमा सुधार गर्ने, चामलको प्याकेजिङ तथा ब्रान्डिङ गर्ने र स्थानीय उत्पादनलाई देशका विभिन्न बजारसम्म पुर्याउने विषयमा छलफल गरिएको थियो। किसानले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्न स्थानीय तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सम्बन्धित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
जोरायल बासमतीलाई व्यवस्थित रूपमा व्यवसायीकरण गर्न सके स्थानीय किसानको उत्पादनले राम्रो बजार र मूल्य पाउने मात्र नभई गाउँपालिकाको समग्र कृषि अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ। पर्याप्त उत्पादन, गुणस्तरीय प्रशोधन, आकर्षक प्याकेजिङ र प्रभावकारी बजारीकरण गर्न सके जोरायल बासमतीलाई स्थानीय उत्पादनको सीमाबाट बाहिर निकालेर राष्ट्रिय बजारमा स्थापित गर्न सकिने सम्भावना रहेको कार्यक्रममा चर्चा गरिएको थियो।
किसानको खेतमा उत्पादन भएको सुनौलो धानलाई उचित मूल्यसहित उपभोक्ताको बजारसम्म पुर्याउने वातावरण निर्माण गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएकोमा समेत जोड दिइएको थियो। जोरायल बासमतीको पहिचानलाई संरक्षण गर्दै यसको उत्पादन र व्यवसायीकरणमा लगानी तथा सहकार्य बढाउन सके किसानको आयआर्जन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।



