
डोटी — राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सुन्तलाजात फलफुल जोनले जिल्लास्तरीय सुन्तलाजात फलफुल खेती सम्बन्धी उन्नत प्रविधि तालिम आइतबार देखि बडीकेदार गाउँपालिकाको खड्यौलीमा सुरु गरेको छ। २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तीनदिने तालिममा स्थानीय कृषक तथा प्राविधिकहरूको सहभागिता रहेको छ।
कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुराका प्रमुख श्री पिताम्बर बस्नेतको अध्यक्षतामा उद्घाटन गरिएको हो। बडीकेदार गाउँपालिका अध्यक्ष श्री भैरब ब. साउँद प्रमुख अतिथि तथा उपाध्यक्ष श्री डम्बरी बिष्ट कलेलल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य श्री पद्मदेबी जेठारा, प्रमुख प्रशासकीय अधिकृत श्री शेर ब. बुढा, कृषि अधिकृत श्री सिला बस्याल, कृषि विकास शाखा प्रमुख श्री भावना बोगटी लगायतको उपस्थिति रहेको थियो। बडीकेदार गाउँपालिकाका प्राविधिकहरू तथा सुन्तलाजात फलफुल खेतीमा संलग्न २१ जना उद्यमी कृषकसहित जम्मा ३१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममा सुन्तलाजात फलफुल खेतीलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन आवश्यक उन्नत प्रविधि, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रमको सञ्चालन प्राविधिक सीतल भट्टाले गर्नुभएको थियो।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुरा अन्तर्गत सुन्तलाजात फलफुल जोन तथा जोन प्राविधिक एकाई बुडर, डोटीको आयोजनामा उक्त तालिम आयोजना भएको हो ।



