
डडेल्धुरा , वैशाख २५- केही वर्षअघिसम्म जङ्गली जनावरको क्षति, सिँचाइको अभाव, गुणस्तरहीन बीउ र प्राविधिक पहुँच नहुँदा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका कृषकहरूले आलु खेती गर्न छोडेका थिए। तर आज यही स्थानमा नयाँतोला कृषक समूहका २८ जना किसानले आत्मनिर्भरता र सम्भावनाको नयाँ अध्याय रचिरहेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु सुपरजोन कार्यक्रम (परियोजना कार्यान्वयन इकाइ, डडेल्धुरा) को सशक्त समन्वय र सहयोगले त्याहाँको कृषि पुनर्जागरण सम्भव भएको हो। सरकारी साझेदारीमा सिँचाइ, घेराबार, प्राविधिक प्रशिक्षण, गुणस्तरीय आलु बीउ र सघन अनुगमन जस्ता बहुआयामिक सेवा प्रदान गरिएको थियो।

कार्यक्रम अन्तर्गत आलुखेती गरिने क्षेत्रको चारैतिर १२ सय मिटर घेराबार गरिएको छ। विगतमा जङ्गली जनावरबाट हुने क्षति हटेसँगै कृषकहरूले आलु खेतीमा नयाँ उत्साह देखाएका छन्। एक सिजनमै ७० रोपनी क्षेत्रफलमा आलु खेती गरी ७७ मेट्रिक टन उत्पादन भएको र ५५ मेट्रिक टन विक्री गरेर २२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। अबदेखि कृषकहरूले वर्षे र हिउँदे गरी दुई सिजन आलु खेती गर्दैछन्, जसबाट आम्दानी दोब्बर हुने अपेक्षा गरिएको छ।

समूहका अध्यक्ष पदम बहादुर रावलले कृषिमा आएको यस सकारात्मक परिवर्तनमा सरकारको सहयोग र प्राविधिक पहुँचको मुख्य योगदान रहेको बताए। उनका अनुसार मेहनत र सही सहकार्यको संयोजनले परित्याग भएको खेती पनि पुनः सम्भावनाको मूल स्रोत बन्न सक्छ।
योजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार कृषकहरूको आवश्यकता र चुनौतीको पहिचान गर्दै उनीहरूलाई व्यवहारिक समाधान दिइएको हो। स्थानीय सन्दर्भअनुसारको योजना, सक्रिय सहकार्य, निरन्तर प्राविधिक मार्गदर्शन र परिणाममुखी कार्यक्रमका कारण कुजाकोटमा यस्तो उल्लेखनीय उपलब्धि सम्भव भएको हो।
उनले कृषि क्षेत्रको दीर्घकालीन रूपान्तरणका लागि यस्ता कार्यक्रमलाई विस्तार गर्नु आवश्यक रहेको बताए। ग्रामीण जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने यी प्रयासहरू अन्य क्षेत्रका लागि पनि उदाहरणीय बन्न सक्ने विश्वास उनले व्यक्त गरे।
मेहनती किसानका हात, सरकारी सहकार्य र समर्पित प्राविधिक सेवाको मिलनबाट अहिले कुजाकोटको कृषिमा आत्मविश्वास, प्रेरणा र सम्भावनाको नयाँ बिहान शुरु भएको छ।



