डोटीमा व्यावसायिक कपास खेतीको नयाँ शुरुवात

पुन्ना तालिम केन्द्र

डोटी – सुदूरपश्चिम प्रदेशको डोटीस्थित दिपायल सिलगढी नगरपालिकाले लोपोन्मुख अवस्थामा पुगेको कपास खेतीलाई पुनर्जीवित गर्ने महत्त्वाकांक्षी परियोजना प्रारम्भ गरेको छ। यस अभियानअन्तर्गत शैलेश्वर र प्रस्तावित जुनतारा कृषि समूहले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नाको ४६ रोपनी जग्गा वार्षिक दुई लाख रुपैयाँ भाडामा लिएर व्यावसायिक कपास खेती सुरु गरेका छन्।

प्रस्तावित जुनतारा कृषि समूहकी अध्यक्ष जमुना खड्काका अनुसार बैशाख महिनामा सामूहिक रूपमा सुरु गरिएको खेती हाल साउन–भदौमा फुल्न थालेपछि कृषक समूहमा उत्साह छाएको छ।

जिल्ला वन डोटी

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर शुचिकारका अनुसार यस अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाको सहयोग प्राप्त भएको छ। कृषि ज्ञान केन्द्र डोटीले हाते ट्र्याक्टर उपलब्ध गराएको छ भने युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत युएन वुमन र आसमान नेपालले प्राविधिक तथा वित्तीय सहयोग गरेका छन्। नगरपालिकाको समन्वयमा ३ दिने कपास खेती तालिम पनि सम्पन्न भएको थियो।

आसमान नेपालले बिउपूँजी स्वरूप दुई लाख रुपैयाँ सहयोग गरेको र बीउ तथा आवश्यक सामग्री नगरपालिका कृषि शाखाबाट उपलब्ध भएको अध्यक्ष खड्काले जानकारी दिइन्।

उत्पादनपश्चात बजार व्यवस्थापनबारे कुनै चिन्ता नरहेको जनाउँदै नगर प्रमुख विजय खड्काले कपास खेतीलाई ‘सपनाको बारी’ को संज्ञा दिए। उनका अनुसार नगरपालिका आफैंले कपास खरिद गर्ने र यसबाट शिरक तथा डसना उत्पादनमार्फत आत्मनिर्भर बन्ने योजना रहेको छ। आगामी वर्षहरूमा यस खेतीलाई अझ व्यापक बनाउन लक्ष्य लिइएको पनि उनले बताए।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिका डोटीमा पहिलो पटक व्यावसायिक कपास खेतीको शुरुवात गर्ने स्थानीय तह बनेको छ। संघीयतापछि लोपोन्मुख अवस्थामा पुगेको कपास खेतीलाई पुनःस्थापित गर्ने यो पहललाई स्थानीयले सराहना गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.