
डोटी — राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराद्वारा आइतबार सुन्तलाजात फलफुल जोन सुदृढीकरणका लागि कृषि औजार तथा बजार सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोकटान फुडसिल गाउँपालिका गरी तीन स्थानीय तहमा रहेका ३० वटा कृषि फर्म तथा कृषक समूहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको कार्यक्रम आयोजकले जनाएको छ।

उत्पादनदेखि स्याहार–सम्भार र वजारीकरणसम्मका कार्यलाई सहज बनाउन कार्यक्रममार्फत ३२० वटा क्रेट, १४ वटा डिजिटल तराजु, ५५ आरी, ७३ सिकेचर, २ भर्याङ तथा १ पावरस्प्रे वितरण गरिएको हो। यी सामग्रीहरू ५० देखि ८५ प्रतिशत ढुवानीसहितको अनुदानमा उपलब्ध गराइएको थियो। सामग्री हस्तान्तरण बुडर, विपिनगर र खड्यौली गरी तीन स्थानमा क्रमशः सम्पन्न गरिएको थियो।
कार्यक्रममा बडीकेदार गाउँपालिका अध्यक्ष भैरब ब. साउँद, उपाध्यक्ष डम्बरी विष्ट कलेल, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम डडेल्धुरा प्रमुख पिताम्बर बस्नेत, कृषि विकास शाखाका प्राविधिक, स्थानीय पत्रकार तथा उद्यमी कृषकहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख पिताम्बर बस्नेतले सुन्तला जोनलाई प्रविधि–मैत्री, व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यअनुसार सामग्री वितरण गरिएको बताए। उनका अनुसार सुन्तला उत्पादन, संकलन र वजारीकरणको सम्पूर्ण प्रक्रिया सहज र गुणस्तरीय बनाइ किसानलाई सक्षम, दक्ष र प्रतिस्पर्धी बनाउने कार्यक्रमको मूल लक्ष्य हो।
बस्नेतका अनुसार कार्यक्रम कार्यान्वयन इकाई डडेल्धुराले मसला, आलु तथा तरकारी बाली उत्पादनका क्षेत्रमा डोटी र डडेल्धुरामा उत्कृष्ट काम गर्दै आएको छ। क्षेत्रीय सम्भावनाअनुसार सञ्चालन हुँदै आएका कार्यक्रमहरूले कृषकको आम्दानी वृद्धि, उत्पादक क्षमता विस्तार तथा कृषि आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए।


