
डोटी । डोटी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणना परिणामअनुसार खड्काले १४ हजार ८ सय ९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतगणना कार्य आज २३ गते बिहान ११ बजे सम्पन्न भएको हो। सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार खड्का निकटतम प्रतिद्वन्द्वी (एमाले ) का उम्मेदवार दिपक धामी भन्दा ७ सय ८७ मतान्तरसहित निर्वाचित भएका छन्।

निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दीपक बहादुर धामीले १४ हजार १ सय १० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र बहादुर खड्काले १३ हजार २ सय ७० मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक बहादुर अग्रवालले ५ सय ९४ मत, राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ४ सय १७ मत, नेकपा (माओवादी) का प्रकाश कठायतले ३ सय ९२ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाहीले ३२ मत पाउँदा मितेरी पार्टी नेपालकी सरस्वती कुमारी पाल (मल्ल) ले ४३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
मतगणना सम्पन्न भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले डोटी–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ।



