
डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज १० बर्ष पुगेको छ। दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते ना३ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो। बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए।
सोही दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज जोरायल गा पा ३ को कार्यालयमा १० औं स्मृति सभाको आयोजना गरिएको छ। स्मृति सभामा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा ,वडा अध्यक्ष नवीन ओझा ,शिक्षा अधिकृत तेज बहादुर खत्री ,विभिन्न कार्यालयका कर्मचारी ,पत्रकार , सुरक्षाकर्मी संगै स्थानीयले दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।



जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन १० बर्ष बितिसक्दा समेत कार्यान्वयन भएको छैन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए/नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने पनि उल्लेख छ।



