
डोटीमा माइती जाने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-४ थली घर भइ हाल कैलालीको चौमालामा होटल ब्यबसाय गरेर बसेकी अन्दाजी ४० बर्सिया भावना पुन मगरको आज शुक्रबार बिहान माइत जाने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको उनका भाइ सबिन पुनले जानकारी दिए ।

आज शुक्रवार बिहान कैलालीको चौमाला देखि जोरायल गाउँपालिका वडा नम्बर ४ को सिराड स्थित माइतीघर दशैं मान्न स परिवार जाँदै गर्दा जोरायल गा पा ४ को गणेशाल भन्दा अन्दाजी ५०० मिटर माथी उकालो मा सडक माथिको भिर बाट उनी खसेको परिवार स्रोतले जनाएको छ ।

श्रीमान र छोरी अन्दाजी ५० मिटर अगाडि र उनी पछाडि उकालो चढ्ने क्रममा भिरबाट खसेर तल रहेको जोरायल सहजपुर सडकमा रोकिएको अबस्थामा उनको लास भेटिएको भाइ सबिन पुनले जानकारी दिए ।अगाडि रहेका श्रीमान र छोरीले धेरै समयसम्म उनी न आएपछि पछाडि फर्केर खोज्दा भिरबाट खसेर सडकमा उनी मृत अबस्थामा फेला परेकी थिइन । मृतक भावनाका श्रीमान १ छोरा र १ छोरी रहेका छ्न ।
लगभग एक महिना अगाडि मात्रै त्यही क्षेत्रमा भिरबाट लडेर एकजना शिक्षिकाको पनि मृत्यु भएको थियो ।



