
डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा नागरिक आरोग्य सेवा केन्द्रले “स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबूत आधार” भन्ने मूल नारासहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाएको छ।

धन्वन्तरी जयन्ती प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइन्छ। यो अवसरमा नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख बिरबहादुर बोहराले आयुर्वेदको महत्त्वबारे प्रकाश पार्दै भने, “आयुर्वेद उपचार पद्धति मात्र होइन, स्वस्थ जीवनशैली अपनाई रोगबाट जोगिन प्रबर्द्धनात्मक पद्धति पनि हो।”
उक्त कार्यक्रममा डोटी जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरू तथा स्थानीयहरूको समेत सहभागिता रहेको थियो। धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा बि. सं. २०५६ देखि मनाउन थालिएको हो। आयुर्वेदलाई पुनः जीवनमा समावेश गर्दै स्वस्थ समाज निर्माणको प्रयास यस दिवसले जनचेतना जगाउँदै आएको छ।



