
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले ६ रिक्त पदका लागि ५ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रूपमा खटाएको छ।

मुख्य निर्वाचन अधिकृतमा बझाङका सुदर्शन लामिछाने, बाजुराका संजिव पोखरेल, डोटीका रुद्रमणी गिरी, दार्चुलाका पुष्पराज पाण्डे र कञ्चनपुरका लिलाराज अधिकारीलाई नियुक्त गरिएको छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५, र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि र कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका लागि पनि उपनिर्वाचनको तयारी गरिएको छ। कैलालीमा कुल २६ मतभार रहेको जिससमा कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ मतभार छ। जनप्रतिनिधिहरूको निधनपछि यी पदहरू रिक्त भएका हुन्।



