डोटीको शिखर नगरपालिका–८ स्थित के.आई. सिंह राजमार्गमा मंसिर १ गते भएको सवारी दुर्घटनापछि पीडित परिवार र स्थानीयले दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै अनिश्चितकालीन चक्काजाम गरेका छन्।
गत मंसिर १ गते साँझ ६:१० बजे डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको बोलेरो जिपले ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक प्रकाश विक घाइते भएका छन्। प्रारम्भिक उपचारपछि विकलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
दुर्घटनाको लामो समय बितिसक्दा पनि पीडित परिवारले दोषीमाथि कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति सुनिश्चित गर्न माग गर्दै हिजो रातिदेखि के.आई. सिंह राजमार्ग अवरुद्ध गरेका हुन्। चक्काजामका कारण राजमार्गको आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने स्थानीय व्यापार र सेवा प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ठक्कर दिने बोलेरो जिपका चालक प्रहरी नियन्त्रणमा रहेका छन् र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतका अनुसार चालकसँग प्रारम्भिक सोधपुछ भइरहेको छ भने दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काम भइरहेको छ।
प्रहरीले चक्काजाम अन्त्य गर्न मृतक परिवारसँग वार्ता गरिरहेको र उनीहरूको मागलाई सम्बोधन गर्न पहल भइरहेको जनाएको छ। प्रशासनले समस्या समाधानका लागि छिटो कदम चाल्ने आश्वासन दिएको छ।
स्थानीय बासिन्दाले न्याय पाउन ढिलाइ भए चक्काजामलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। प्रशासनले छानबिनलाई तीव्र बनाउँदै पीडित पक्षलाई राहत दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।