
डोटी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीको सायल गाउँपालिका र केआई सिंह गाउँपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ।
सायल गाउँपालिकाको सम्मेलनले हरिपाल थापालाई अध्यक्ष, सुरेन्द्र साउद र बिमला थापालाई उपाध्यक्ष, तेजबहादुर पाण्डेलाई सचिव, प्रेम बहादुर साउदलाई सह-सचिव, र कैलास गिरिलाई कोषाध्यक्ष चयन गरेको छ। ४५ सदस्यीय पालिका समिति गठन गरिएको जानकारी सचिव तेजबहादुर पाण्डेले दिएका छन्।

त्यसैगरी, केआई सिंह गाउँपालिकाको सम्मेलनले ३५ सदस्यीय समिति चयन गरेको छ। अध्यक्षमा नरेन्द्र कु बलायर, वरिष्ठ उपाध्यक्षमा रामसिंह विश्वकर्मा, उपाध्यक्षहरूमा डबल तिरुवा र दुर्गा सार्की, सचिवमा प्रकाश जोशी, सह-सचिवमा हरिलाल भुल, र कोषाध्यक्षमा विमला महरा भण्डारी चयन भएका छन्। यसबारे जानकारी नरेश बलायरले दिएका छन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि रहेका थिए। बोगटान गाउँपालिकाका अध्यक्ष कमल गडशिला, प्रदेश सदस्यहरू पूर्णराज जोशी र बल बहादुर ओली, पार्टी सचिव डबल बहादुर सिंह, प्रदेश सल्लाहकार लाल बहादुर साउद, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पुरन बोहरा, र उपाध्यक्ष इन्द्र डुम्रेलको पनि उपस्थिति रहेको थियो।
दुवै सम्मेलनका क्रममा विभिन्न दल परित्याग गरी १ सय ३० जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नवप्रवेशीलाई प्रमुख अतिथि त्रिलोचन भट्टले टीका र फूलमालासहित स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री भट्टले माओवादी केन्द्रलाई परिवर्तनको संवाहकको रूपमा चित्रण गर्दै जनतामा पार्टीप्रतिको आकर्षण बढ्दो रहेको बताए। जिल्ला सचिव डबल सिंहले पनि पछिल्लो समय पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए।


