
डोटी । इलाका प्रहरी कार्यालय विपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीको क्रममा बेहोस भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी पाली बिहान ३ बजेदेखि ६ बजेसम्मको ड्युटीमा थिए।

उनी ड्युटीमा रहेकै अवस्थामा अचानक छाती दुखेर बेहोस भएका थिए। उनलाई तत्कालै स्थानीय विपिनगर पोलिक्लिनिकमा लगिएको थियो। पोलिक्लिनिकमा सामान्य चेकजाँच पछि, थप उपचारका लागि बिहान ४ बजे उनलाई सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो।

सेती प्रादेशिक अस्पतालमा बिहान ६:४० बजे डाक्टरले उनलाई मृत घोषित गरेका छन। मृत्युको बारे अझै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोछ।
