काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) नयाँ भाइरस नभई सामान्य रुघाखोकी उत्पन्न गराउने साधारण भाइरस भएको स्पष्ट पारेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस भाइरससम्बन्धी भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक हो।


“मानव मेटाप्न्यूमो भाइरस कुनै नयाँ भाइरस होइन। यो नेपालमा विगतमा पनि देखिएको भाइरस हो। यस भाइरसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि नेपालले आवश्यक तयारी गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ।
यस भाइरसको सङ्क्रमणले गम्भीर समस्या उत्पन्न गर्ने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ। यो भाइरस कमजोर प्रतिरक्षा भएका व्यक्तिहरू, साना बालबालिका र वृद्धहरूमा मात्र देखिने सम्भावना रहेको पनि उल्लेख गरिएको छ।
मन्त्रालयले संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षाका उपायहरू जस्तै मास्क लगाउने, भीडभाडमा नजाने, साबुनपानीले हात धुने र बिरामीको सम्पर्कमा नजाने आग्रह गरेको छ। स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिन वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सङ्क्रामक रोगहरूको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले सबैलाई अपिल गरेको छ।



