
डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन्। स्थानीय नरबहादुर विककी छोरीको विवाहमा सहभागी भएकाहरूमा स्वास्थ्य समस्या देखिएको हो। भोज खाएका व्यक्तिहरूमा ज्वरो, वान्ता, रिंगटा, पखाला र बेहोस हुने समस्या देखिएको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए।

बिरामी ३० जनाको शनिबार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ। उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली खटिएको छ। अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीको उपचार जारी रहेको छ।

विवाहको भोजमा खाइएको सुजी (हलुवा) का कारण यस्तो समस्या देखिएको अनुमान गरिएको छ। बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ।
बिरामी भएको जानकारी पाएपछि प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा ७ जनाको प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताएका छन्।
