बझाङ: बझाङ जिल्लामा निमोनियाका कारण दुई शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा बुंगल नगरपालिका-९ का ६ महिने शिशु र केदारस्युँ गाउँपालिका-५ का २ महिने शिशु रहेका छन्।

विगत केही दिनदेखि यी शिशुहरूमा रुघाखोकी र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। बुंगल नगरपालिका-९ का ६ महिने शिशुको खिरातडी स्वास्थ्य चौकी ल्याउने क्रममा माघ ६ गते बाटोमै मृत्यु भएको थियो। त्यसको भोलिपल्ट माघ ७ गते केदारस्युँ गाउँपालिका-५ का २ महिने शिशुको पनि खिरातडी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको थियो। तर, डडेलधुरा अस्पताल नपुग्दै बीच बाटोमै उनको मृत्यु भएको खिरातडी स्वास्थ्य चौकीका डाक्टर दिलबहादुर गुर्धामीले जानकारी दिनुभएको छ।

डाक्टर गुर्धामीका अनुसार, बच्चाहरूलाई गम्भीर अवस्थामा मात्र स्वास्थ्य चौकीमा ल्याउने प्रवृत्तिले शिशुहरूको ज्यान गुम्न पुगेको छ।
बच्चाहरूमा ज्वरो, रुघाखोकी, वा स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तत्कालै नजिकको स्वास्थ्य संस्थामा देखाउन र स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयमै उपचार गराउनुपर्ने डाक्टर गुर्धामीले बताएका छन्।



