
बाजुरा, – बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको ज्यान गएको छ। बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको मृत्यु भएको हो।

जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए।
बसको ठक्करबाट बालकको घटनास्थलमै ज्यान गएको हो। घटना बिहीवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको प्रहरीले जनाएको छ।
बालकलाई ठक्कर दिने बस र चालक, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्ट, प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



