
डोटी । डोटी जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिन ४ हजार ७ सय ९४ किशोरीहरूले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय डोटीका अनुसार मंगलबार देखि खोप अभियान अन्तर्गत जिल्लाका ९ ओटै स्थानीय तहमा किशोरीहरूलाई खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालयका खोप कार्यक्रम संयोजक सूर्य बिष्टका अनुसार मंगलबार खोप अभियानमा शिखर नगरपालिकाका १ हजार ७२, दिपायल सिलगढी नगरपालिकामा ७ सय ६०, केआई सिंह गाउँपालिकामा ५ सय ७४, आदर्श गाउँपालिकामा ५ सय ७२, पूर्वीचौकी गाउँपालिकामा ५ सय २२, सायल गाउँपालिकामा ५ सय ४, बोगटान फुड्सिल गाउँपालिकामा ४ सय १०, बडीकेदार गाउँपालिकामा २ सय ३५ र जोरायल गाउँपालिकामा १ सय ४५ किशोरीहरूले खोप लगाएका छन्।

अभियानको सुरुवात जिल्ला समन्वय समिति डोटीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक लक्ष्मणवहादुर सिंहले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर गरेका थिए। एचपीभी खोप अभियानले जिल्लामा पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि किशोरीहरूलाई सुरक्षित राख्ने उद्देश्य राखेको छ।



