
नेकपा (माओवादी केन्द्र) ले आफ्नै वर्ग र समुदायतर्फ केन्द्रित हुने नीति अवलम्बन गर्दै जातीय तथा क्षेत्रीय मोर्चाहरू पुनः सक्रिय बनाएको छ। पार्टी महासचिव देव गुरुङलाई पहिचानसँग सम्बन्धित संगठन समन्वय संयोजकको जिम्मेवारी दिइएको छ।

आइतबार पार्टीका तल्लो तहमा पठाइएको परिपत्रअनुसार, उपमहासचिव मातृकाप्रसाद यादवलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज तोकिएको छ। पूर्वउपसभामुख ओनसरी घर्तीलाई जनजाति महासंघको नेतृत्व दिइएको छ भने हकिकुल्लाहा खाँ मुसलमानलाई मुस्लिम मुक्ति मोर्चा नेपालको इन्चार्ज तोकिएको छ।

त्यसैगरी, परशुराम रम्तेललाई दलित राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व दिइएको छ। नरेश भण्डारी कर्णाली राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज तोकिएका छन् भने सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टलाई सेती महाकाली मुक्ति मोर्चाको इन्चार्ज बनाइएको छ।
यसअघि जनयुद्धका क्रममा माओवादीले भौगोलिक र जातीय मोर्चाहरू गठन गरेको थियो। अहिले पुनः यी मोर्चाहरूलाई सक्रिय बनाइएकाले माओवादीको रणनीतिक पुनर्संरचनामा नयाँ मोड आउने विश्लेषण गरिएको छ।



