
डोटी – पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप अभियान २०८१ जोरायल गाउँपालिका डोटीमा शतप्रतिशत सफलताका साथ सम्पन्न भएको छ। जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्टका अनुसार, अभियान २०८१ साल माघ २२ गतेबाट सुरु भई माघ २८ गते सम्पन्न भएको हो। प्रमुख बिष्टका अनुसार स्वास्थ्य कार्यालय डोटीको जोरायल गाउँपालिकाको १ हजार ९७ बालिकालाई खोप लगाउने लक्ष्य राखेकोमा १ हजार १ सय २७ जनालाइ खोप दिएर १ सय ३ प्रतिशत उपलब्धि प्राप्त भएको र गाउँपालिकाले १ हजार १ सय २१ बालिकालाई खोप लगाउने लक्ष्य राखेकोमा १ हजार १ सय २७ जनालाई खोप दिएर १सय १ प्रतिशत उपलब्धि प्राप्त गरेको छ ।
अभियान अन्तर्गत विधालयमा अध्ययनरत कक्षा ६ देखि १० र विधालय छोडेका १० बर्ष देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रदान गरिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिस अनुसार, नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी पहिलो पटक एचपीभी खोप अभियान सञ्चालन गरेको हो।



स्वास्थ्य शाखाका अनुसार, जोरायल गाउँपालिकाका विद्यालय स्तरमा खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिएको थियो। अभियान सफल बनाउन स्वास्थ्य कार्यालय डोटी, जोरायल गाउँपालिका , स्थानीय स्वास्थ्य संस्था , खोपकर्मी, खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयबासीहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्टले खोप अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छन्। उनले स्वास्थ्य सेवाको पहुँच अझै प्रभावकारी बनाउने उद्देश्यका साथ नियमित खोप कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।
जोरायल गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहलाई अझै सुदृढ गर्ने, नियमित खोप अभियानलाई प्रभावकारी बनाउने तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।



