
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शुक्रबार वडा नम्बर ३ को वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा २३७ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविर दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा सम्बन्धित सरोकारवाला निकायहरूको समन्वयमा सम्पन्न भएको थियो। वडा नम्बर १, २, ३ र ४ का महिलाहरूले स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख स्मृति चुनाराले आफ्नो स्वास्थ्य नियमित जाँच गराउन सबैलाई आग्रह गर्दै भनिन्, महिला दिवसलाई नाचगानमा मात्र सीमित गर्नुको सट्टा स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।
नगर उपप्रमुख कलावती महर साउदले महिलाहरूलाई स्वास्थ्य परीक्षणमा खुलस्त भएर सहभागी हुन आग्रह गर्दै भनिन्, स्वास्थ्य शिविरले महिलाहरूलाई रोग पहिचानमा सहयोग पुग्नेछ।
वडा नम्बर ३ का अध्यक्ष नारायण साउदका अनुसार स्वास्थ्य परीक्षणमा नसर्ने रोगका १३४ जना, पाठेघरको मुखको क्यान्सर परीक्षणमा ४४ जना, आङ खसेका २ जना, सेतोपानी बग्ने समस्या भएका ३८ जना, मधुमेहका ३ जना र अन्य सामान्य स्वास्थ्य समस्याका १६ जनाले सेवा लिएका छन्।
शिविरमा सहभागी महिलाहरूले स्वास्थ्य परीक्षणपछि आफ्ना स्वास्थ्य समस्याबारे जानकारी पाउँदा खुसी व्यक्त गरेका थिए।



