
डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटनका लागि अछाम जाँदै गर्दा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

पत्रकार सम्मेलनमा उनले भने, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन।

गृहमन्त्री लेखकले लोकतन्त्र विरोधी गतिविधिहरूलाई पनि लोकतन्त्रले नै अभिव्यक्तिको स्वतन्त्रता दिएको उल्लेख गरे। साथै, पूर्वराजालाई राजनीति गर्न इच्छा भए चुनावमा सहभागी भई खुला प्रतिस्पर्धामा आउन चुनौतीसमेत दिए।
संविधान संशोधनबारे सरकार गम्भीर रहेको बताउँदै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीअनुसार संविधान संशोधनका लागि कार्यदल गठनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। गृहमन्त्री लेखकले सबै पक्षको सहमतिमा संविधान संशोधन हुने विश्वास व्यक्त गरे।



