
डोटी – डोटीको जोरायल क्षेत्र र डडेल्धुराको आलिताल गाउँपालिका लगायतका केही क्षेत्रमा फाल्गुन २९ गते साँझ ५ बजेबाट अचानक असिना सहितको भारी वर्षा भएको छ। मौसममा आएको यो आकस्मिक परिवर्तनले स्थानीय किसानहरूलाई ठूलो नोक्सानी पुर्याएको छ।

असिना पानीका कारण किसानहरूले लगाएको अन्न, तरकारी तथा भर्खरै फुल्न थालेका फलफूलमा ठूलो क्षति पुगेको छ। गहुँ, केराउ मटर, आलु, लसुन, प्याज, बन्दा, काउली जस्ता तरकारी बाली तथा सुन्तला ,जुनार कागती ,अमिलो , स्याउ, नास्पाती, आरु जस्ता फलफूलका फूल असिनाले झारेको छ। स्थानीय किसानहरूका अनुसार असिनाले गहुँ र जौंका बाला झारिदिएको छ भने तरकारीको बोट नै भाँचिएको छ।
जोरायल क्षेत्रका किसान खडक मल्लका अनुसार असिनाले खेतीको ठूलो भाग नष्ट गरेको छ। उनले भने, “असिनाले हाम्रो महिनौंको मेहनत एकैछिनमा बर्बाद गर्यो। अब उत्पादनमा भारी गिरावट आउने निश्चित छ। हामी ऋण लिएर खेती गर्छौं, यस्तो बेलामा सरकारले राहतको व्यवस्था गर्नु जरुरी छ।”
मौसमको यो आकस्मिक परिवर्तनले किसानहरूको आर्थिक अवस्था कमजोर हुने चिन्ता बढाएको छ। अधिकांश किसानहरूले ऋण लिएर खेतीपाती गर्ने भएकाले असिना पानीले थप समस्या निम्त्याएको छ। कृषि जानकारहरूका अनुसार यो समयमा फलफूल र तरकारीमा फूल र डाँठ विकासको चरणमा हुने हुँदा असिनाले प्रत्यक्ष असर पुर्याउँछ। यदि मौसम तुरुन्तै नखुल्ने हो भने थप क्षति हुने सम्भावना रहेको कृषि विकास साखा जोरायलका कृषि प्राविधिक चन्द्र बहादुर सार्कीले बताए ।


