
डोटी – जोरायल गाउँपालिकाको आयोजनामा तथा च्यारिटी हेल्थ फाउन्डेसन, धनगढीको सहयोगमा जोरायल गाउँपालिका–३, रावतकट्टेमा ‘जोरायल आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ। आँखा उपचार सेवालाई सहज र प्रभावकारी बनाउन स्थायी केन्द्र स्थापना गर्दै निःशुल्क आँखा शल्यक्रिया शिविर समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार आइतबार एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले उपचार केन्द्रको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथि च्यारिटी हेल्थ फाउन्डेसनका अध्यक्ष डा. बिधा प्रसाद पन्त, विशिष्ट अतिथिका रूपमा बीबीएच आई फाउन्डेसन, यूएसएका डा. गेरी पार्क र ज्याक प्लाङ्क, गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, वडा नं. ३ का अध्यक्ष नवीन ओझा, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।
गाउँपालिकाले स्वास्थ्य सेवा गाउँमै प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्रको स्थापना गरिएको जनाएको छ। स्थानीय नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गर्दै, आगामी दिनमा थप स्वास्थ्य सेवा विस्तार गरिने पनि गाउँपालिकाले जनाएको छ।
नवस्थापित उपचार केन्द्रमार्फत आजैदेखि निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको छ। सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा वडाबाट छनोट भएका बिरामीहरूको शल्यक्रिया भोलि, चैत्र ११ गतेसम्म गरिने गाउँपालिकाले जनाएको छ। शिविरमा आएका दृष्टि समस्याबाट पीडित बिरामीहरूलाई आवश्यक परामर्श, औषधि तथा अपरेशन सेवा निःशुल्क प्रदान गरिनेछ।



