
डोटी – जोरायल गाउँपालिकामा विश्व क्षयरोग दिवस २०२५ “हामी क्षयरोगको अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता र आजको आवश्यकता” भन्ने मूल नाराका साथ विविध कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै निःशुल्क परीक्षण तथा उपचार सेवामा विशेष जोड दिइएको छ।

क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई तीव्र रूपमा अघि बढाइरहेको जोरायल गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा २२ जना, आर्थिक वर्ष २०७९/८० मा १९ जना, आर्थिक वर्ष २०८०/८१ मा १८ जना तथा चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ११ जना नयाँ संक्रमित पहिचान भएका छन्।
स्वास्थ्य सेवा सहज पहुँचमा पुर्याउने उद्देश्यले निःशुल्क क्षयरोग परीक्षण, औषधि वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। समुदायस्तरबाटै रोग पहिचान, उपचार र न्यूनीकरण गर्नका लागि स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा विभिन्न संघसंस्थाबीच सहकार्यलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै जोरायल गाउँपालिकामा कार्यरत क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक निशा खड्काले क्षयरोग निवारणका लागि समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताइन्। उनले भनिन्, “क्षयरोग केवल स्वास्थ्यसम्बन्धी चुनौती मात्र होइन, यो सामाजिक र आर्थिक विकाससँग पनि जोडिएको विषय हो। समयमै रोगको पहिचान, प्रभावकारी उपचार, पर्याप्त लगानी र सेवा प्रवाहको सुनिश्चितता बिना क्षयरोग नियन्त्रण सम्भव छैन। स्थानीय सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था र समुदाय सबैको सहकार्यले मात्र हामी क्षयरोगमुक्त भविष्यतर्फ अघि बढ्न सक्छौं।” साथै, उनले जोरायल गाउँपालिकाले क्षयरोग उन्मूलनका लागि थप स्रोतसाधन परिचालन गर्दै समुदायस्तरमै रोग पहिचान तथा उपचारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।



