
डोटी – सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बनमारोको अति फैलावटले कृषियोग्य जमिन र बन क्षेत्र दुबैलाई चुनौती दिन थालेको छ। विगत केही वर्षयता बनमारो डोटी, अछाम, बझाङ जस्ता जिल्लाका बनपाखा हुँदै बस्ती र खेतसम्म फैलिन थालेको छ। यसले गर्दा खेतीयोग्य जमिन बाँझिन थालेको छ भने बनस्पतिको जैविक विविधता समेत संकटमा परेको छ।
स्थानीय किसानहरू भन्छन्, पहिले हरियाली घाँसले ढाकिएको पाखा र बारीमा अहिले बनमारोको घनाजंगलजस्तै विस्तार देखिन्छ। खेतमा अन्नबाली रोप्दा पनि बनमारोको जराले बढ्न दिँदैन, अनि गाईवस्तुलाई पनि चराउन लैजाँदा समस्या हुन्छ।


वन र वातावरण विज्ञहरूका अनुसार बनमारो एक आक्रामक जातको वनस्पति हो, जुन एक पटक जमिनमा फैलियो भने सजिलै हटाउन सकिँदैन। यसले जमिनको उर्बरता घटाउँछ, अन्य उपयोगी वनस्पतिको वृद्धि रोक्दछ, र चरनभूमिमा समेत असर पार्दछ। बन क्षेत्रमा बनमारो बढ्दा रुखका बोटहरू पनि उम्रन पाउँदैनन ।
यद्यपि कुनैकुनै स्थानीय सरकार र वनसम्बन्धी निकायहरूले बनमारो हटाउने प्रयास थालेको बताइन्छ, तर त्यो प्रयास पर्याप्त नभएको किसानहरूको भनाइ छ। कतिपय स्थानमा सामूहिक श्रमदान गरेर बनमारो उखेले पनि फेरि फैलिने गरेको छ। आजभोलि गोठ र घर नजिकैको जमिन पनि बनमारोले ढाक्न थालेपछि स्थानीय बासिन्दा चिन्तित छन्।
विशेषज्ञहरूले बनमारो नियन्त्रणका लागि दीर्घकालीन रणनीति अपनाउन सुझाव दिएका छन्। सामुदायिक जागरूकता, जैविक नियन्त्रण प्रविधि, र स्थानीय नेतृत्वमा सञ्चालन हुने कार्यक्रमहरूमार्फत मात्रै यसको प्रभावकारी नियन्त्रण सम्भव हुने उनीहरूको भनाइ छ।
यदि अबैज्ञानिक रूपमा फैलिरहेको बनमारोलाई समयमा नियन्त्रण गर्न सकिएन भने, पहाडी क्षेत्रको खेतीपाती, पशुपालन, र वातावरण सबै गम्भीर संकटमा पर्न सक्ने देखिन्छ।



