
डोटी, जेठ २६ –भिमदत्त राजमार्ग अन्तर्गत धनगढी–डडेल्धुरा सडकखण्डको स्याउले, साहुखर्क, गैरा, गोगनपानी, बुडर, फल्टुडे, सहजपुर र खानिडाँडा जस्ता स्थानहरूमा अहिले काफल बेच्नेको भीड लाग्ने गरेको छ। बिहान सबेरैदेखि बेलुका ढिलोसम्म महिलाहरू, साना बालबालिका र स्कुल बिदामा रहेका विद्यार्थीहरू काफलको टोकरी बोकेर यात्रुको प्रतीक्षामा सडक छेउमा बसिरहेका भेटिन्छन्।
गाउँ वरपरका जंगल र डाँडाबाट टिपेर ल्याइने कालो काफल स्वादिलो मात्र होइन, आम्दानीको भरपर्दो स्रोत पनि बनेको छ। सिजनको सुरुआतमा काफलको मूल्य प्रतिकेजी ५०० रुपैयाँसम्म पुगेको थियो भने अहिले सिजनको समय भएकाले मूल्य घटेर प्रतिकेजी २५० रुपैयाँ हाराहारीमा झरेको छ। मूल्य घटे पनि किनमेलमा कुनै कमी आएको छैन।
स्याउलेकी उमा बोहरा विगत पाँच वर्षदेखि काफल र अन्य मौसमी जडीबुटी बेच्दै आइरहेकी छन्। “बिहानै जंगल पुग्छु, काफल टिपेर ल्याउँछु। दिनमा पाँच केजी जति बेच्दा दुई हजार रुपैयाँसम्म कमाइ हुन्छ,” उनले भनिन्।

गोगनपानीकी १३ वर्षीया रिता खत्री स्कुल बिदामा आमासँगै काफल बेच्न सडकमा बस्छिन्। “पढाइपछि ममीलाई सघाउँछु। आफैंले कमाएको पैसा राम्रो लाग्छ,” उनले मुस्कानसहित सुनाइन्।
साना बालबालिकादेखि किशोरीहरूसम्म काफल बेच्न खटिएको दृश्यले यहाँको जीवनशैली, श्रमशीलता र आत्मनिर्भरताको झल्को दिन्छ। काफल सिजन सकिएपछि यिनै स्थानमा महिलाहरूले ऐंसेलु, अमला,कोइरालो, तरकारी, जडीबुटी जस्ता अन्य सामान बेच्ने गरेका छन्।
स्थानीय रमेश खड्का भन्छन्, “सडक छेउमा यस्ता मौसमी व्यापारले ग्रामीण महिलाको आत्मविश्वास बढाएको छ। तालिम, प्याकेजिङ र बजार व्यवस्थापनमा स्थानीय तहले ध्यान दियो भने यस्ता साना स्वरोजगार दीगो उद्यममा बदलिन सक्छन्।”
सडक छेउमा राखिएका कालो काफलका टोकरी हेर्दा ती केवल फलझैँ देखिए पनि, तीभित्र गाउँको श्रम, संघर्ष र जीवन चलाउने भरोसा मिसिएको छ। महिलादेखि बालबालिकासम्मको सहभागिताले यो मौसमी व्यापार ग्रामीण अर्थतन्त्रको प्रेरणादायी अनुहार बनेको छ।



