
आफ्नै बारीको यात्रा: डोटीका किसानको प्रेरणादायी सफलता
सिलगढी, डोटी – “विदेश गएर मात्र जीवन बनाउँछु भन्ने सोच बदल्न चाहन्छौ भने म हेरे पुग्छ,” भन्दै हाँस्छन् दिपायल सिलगढी नगरपालिका–७ मल्लो उडितोलाका ५४ वर्षीय टेक बहादुर खड्का। उनी अहिले डोटीका सफल आत्मनिर्भर कृषकका रूपमा परिचित छन्। आफ्नै देशमा श्रम बगाएर नाफा, सम्मान र प्रेरणा सबै कमाएका छन्।
कहिल्यै निर्वाहमुखी रूपमा खेतपाती गर्दै आएका खड्काले पछिल्लो दशकमा तरकारी, फलफूल र विरुवा खेतीलाई व्यावसायिक स्वरूप दिएका छन्। घरपछाडिको बारीमा हजारौँ बिरुवाबाट सुरु भएको यो यात्रा अहिले लाखौँ आम्दानी र समृद्ध जीवनशैलीमा परिणत भएको छ।
परिवार शिक्षित, जीवनशैली समृद्ध
खड्काले कृषिबाटै प्राप्त आम्दानीबाट दुई छोराको उच्च शिक्षामा लगानी गरेका छन्। एक छोरा र बुहारीले स्नातकोत्तर सकेर हाल शिक्षकको रूपमा कार्यरत छन् भने अर्का छोरा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ अध्ययनरत छन्।

“परिवारका सबै सदस्यलाई आत्मनिर्भर बनाउनु मेरो मुख्य लक्ष्य हो,” टेक बहादुर भन्छन्। सात सदस्यको परिवारमा सबै आ-आफ्नो काममा व्यस्त छन्, कसैले बेरोजगारीको गुनासो गर्नु पर्दैन।
१० वर्षमा करोडौंको सम्पत्ति
पछिल्लो १० वर्षको अवधिमा खड्काले कृषिबाट १ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेका छन्। सँगै उनले तराईका विभिन्न ठाउँमा ४–५ वटा घडेरीसमेत किनेका छन्। हाल उनको वार्षिक आम्दानी झण्डै ७ देखि ८ लाख रुपैयाँ रहेको छ।
उनी भन्छन्, “अरूलाई दोष लगाउनु भन्दा आफू सक्षम बनौं।” उनको यही सोचले गाउँमा नयाँ प्रेरणा थपेको छ। उनका छिमेकी किसानहरू समेत अहिले व्यावसायिक कृषिमा हात हाल्न थालेका छन्।
सन्देश: देशमै सम्भावना, देशमै सम्मान
“आफ्नै देशमा पसिना बगाए असम्भव केही छैन,” टेक बहादुरको भनाइ छ, “यसले समृद्ध परिवार, सुखी समाज र सक्षम राष्ट्र बनाउन सहयोग गर्छ।”
टेक बहादुर खड्काको कथाले देखाउँछ—सही दिशा, श्रम र निरन्तरताको मार्ग समातेपछि विदेश जानै नपरी स्वदेशमै आत्मनिर्भर, सफल र प्रेरणादायी बन्न सकिन्छ। उनको संघर्ष र सफलताको यात्रा आज धेरैको आँखा खोल्ने खालको छ।



