
डोटी, – क्षयरोग (टी.बी.) को प्रारम्भिक पहिचान, परीक्षण र नियन्त्रणका लागि जोरायल गाउँपालिकामा दुईदिने विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य निर्देशनालय डोटी, स्वास्थ्य कार्यालय डोटी तथा जोरायल गाउँपालिका स्वास्थ्य शाखा र क्षयरोग मुक्त पालिका घोषणा अभियानको संयुक्त आयोजनामा वडा नं. १ र वडा नं. २ मा क्रमशः जेठ १ र जेठ २ गते शिविर सञ्चालन गरिनेछ।
जोरायल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार यहीँ जेठ१ गते वडा नं. १ स्थित गैरा सामुदायिक स्वास्थ्य इकाई पोखरीडाँडामा र जेठ २ गते वडा नं. २ स्थित छतिवन स्वास्थ्य चौकी, बुडरमा सञ्चालन हुने यी शिविरमा डिजिटल एक्सरे प्रविधिको प्रयोग गरी ए.आई. (Artificial Intelligence) प्रणालीमार्फत क्षयरोगको पहिचान गरिने छ।


शिविरमा विशेषतः दुई हप्ता वा सोभन्दा बढी समयदेखि खोकी लागेका व्यक्ति, क्षयरोगीको सम्पर्कमा रहेका व्यक्ति, क्षयरोगको लक्षण देखिएकाहरू, मधुमेह, दम, रक्तचापजस्ता दीर्घरोगीहरू, तथा गिट्टी–बालुवा तथा धुलोमा काम गर्ने श्रमिकहरूको सहभागिता अनिवार्य मानिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टले जानकारी दिए ।
जोरायल गाउँपालिका क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रम संयोजक निशा खड्काले शिविरका कार्यक्रमहरूको जानकारी दिँदै शिविरहरूलाई सफल बनाउन सबै वडाबासीको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनका अनुसार, “क्षयरोगको अन्त्यका लागि जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरेर समयमै परीक्षण र उपचार गर्नु अत्यन्तै आवश्यक छ। त्यसैले लक्षित समुदायको सक्रिय सहभागिता जरुरी छ।”
उनले सबैलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आह्वान गर्दै भनिन्, “क्षयरोग अन्त्यका लागि सबैको साथ र सहयोग जरूरी छ।”



