
डोटी, बैशाख ३१ — केदार सूर्य बहुमुखी क्याम्पस, बडीकेदार गाउँपालिका, डोटीमा हालै सम्पन्न सञ्चालक समितिको बैठकप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले कडा आपत्ति जनाएको छ। स्ववियुका अनुसार, मिति २०८२ साल बैशाख २४ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस सञ्चालन सम्बन्धी विनियमावलीको स्पष्ट व्यवस्था हुँदाहुँदै स्ववियु सभापतिको उपस्थिति नराखी बैठक सम्पन्न गरिएको छ।

स्ववियु सभापति यशोदा बोहरा र सचिव विक्रम साउदले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा सो बैठकलाई “असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी” भन्दै कडा विरोध गरिएको छ। उनीहरूले स्ववियुको प्रतिनिधित्व गर्ने सभापतिको उपस्थिति बिना गरिएको कुनै पनि निर्णय अमान्य हुने स्पष्ट पारेका छन्।
प्रेस विज्ञप्तिमा क्याम्पस प्रमुखमाथि पनि गम्भीर आरोप लगाइएको छ। प्रमुखले आफ्नो परिवारका सदस्यलाई अवैध रूपमा उपप्राध्यापक पदमा नियुक्त गरेको, पूर्वघोषित राजीनामालाई सञ्चालक समितिको अल्पमतबाट अस्वीकृत गराइएको लगायतका विषयलाई लिएर स्ववियुले तत्काल निर्णय खारेज गर्न माग गरेको छ।
स्ववियुले सात दिनभित्र छ बुँदे मागहरू पुरा गर्न आग्रह गर्दै त्यसो नगरे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ। ती मागहरूमा नियमित कक्षा सञ्चालन, क्याम्पसको राजनीतिकरण अन्त्य, सभापतिको सहभागिता सुनिश्चितता, अवैधानिक नियुक्ति खारेज, शिक्षकप्रति भएको दुर्व्यवहारको कारबाही र प्रमुखको नियुक्तिसम्बन्धी विवाद समाधान समावेश छन्।



