
डडेल्धुरा, – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत डडेल्धुरास्थित सुन्तलाजात फलफूल जोनले कृषक उद्यमीहरूलाई बगैँचाको उत्पादन क्षमता वृद्धि गर्न चार आधारभूत पक्षहरूमा विशेष ध्यान दिन आग्रह गरेको छ।
परियोजना कार्यान्वयन इकाईका कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार उत्पादनशील र दीगो बगैँचा विकासका लागि स्वस्थ तथा गुणस्तरीय बिरुवा व्यवस्थापन, प्रभावकारी बगैँचा व्यवस्थापन प्रविधिको प्रयोग, रोग–कीरा नियन्त्रण, र बगैँचा ह्रास व्यवस्थापन अत्यन्त महत्वपूर्ण पक्ष हुन्।
उनका अनुसार, “बगैँचाको दीर्घकालीन सफलताको आधार बिरुवा छनोटदेखि संरक्षणसम्मको प्रत्येक चरणमा वैज्ञानिक विधि अपनाउनु हो। यदि बिरुवा रोगकीरा लागेको वा गुणस्तरहीन भयो भने बगैँचाले राम्रो फल दिन सक्दैन, फल ढिलो फल्छ, उत्पादन कम हुन्छ र छोटो अवधिमै बगैँचा सखाप हुन सक्छ।”
हालको समय नयाँ बगैँचा स्थापनाको उपयुक्त समय भएको उल्लेख गर्दै बस्नेतले कृषकहरूलाई बिरुवा रोपणका क्रममा विशेष सावधानी अपनाउन पनि सुझाव दिएका छन्। माटोको अवस्था अनुसार ३ फिटदेखि १ मिटरसम्म खाडल खनी, गोबर मल, कृषि चुना र माटो मिसाएर खाडल पुर्नु पर्ने र बिरुवा रोपिसकेपछि एक बाल्टी पानी हाल्दै बुको माटोले छोप्नु पर्ने उनले बताए।

बस्नेतले बिरुवा रोप्दा जरालाई क्षति नपुग्ने गरी रोप्न र बिरुवाको छेउमा १ मिटर लामो बाँसको टेको राखी डोरीको सहायताले क्रस गरी बाँध्नुपर्ने प्राविधिक विधि अवलम्बन गर्न कृषकहरूलाई आग्रह गरेका छन्।
उनका अनुसार, सुन्तलाजात फलफूलका बोटमा लाग्ने विभिन्न रोग र कीराहरुमध्ये कतिपय अत्यन्तै विनाशकारी हुने भएकाले समयमै नियन्त्रण नगरिएमा पूरै बगैँचा सखाप हुन सक्छ।
यस परियोजना अन्तर्गत डोटी जिल्लाका जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोकटान गाउँपालिकामा सुन्तलाजात फलफूल जोन कार्यक्रम प्रभावकारी रूपमा लागू भएको छ। ती पालिकाहरूमा बगैँचा विस्तार, प्राविधिक सहयोग, कृषक प्रशिक्षण, औजार तथा उपकरण वितरण जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भईरहेका छन्।
कार्यालय प्रमुख बस्नेतका अनुसार, परियोजना लागू भएका क्षेत्रमा कृषकहरू बगैँचा व्यवस्थापनका आधुनिक प्रविधिहरू अपनाउन थालेका छन्, रोग कीरा नियन्त्रणमा सचेत बनेका छन् र फलफूल उत्पादनमा समेत उत्साहजनक सुधार देखिएको छ। साथै, जोन अन्तर्गत कृषकहरूलाई फलफूल खेतीमा प्रयोग हुने फल टिप्ने कैँची, स्प्रेयर, काटमार गर्ने उपकरण, हाते औजार लगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ, जसले उनीहरूको उत्पादनशीलता र सहजता दुवैमा सकारात्मक प्रभाव पारेको छ।
परियोजना कार्यान्वयन इकाई (सुन्तलाजात फलफूल जोन), डोटी/डडेल्धुराले बगैँचासम्बन्धी थप जानकारी तथा प्राविधिक सहयोगका लागि कृषकहरूलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।



