
डोटी- जोरायल गाउँपालिका, डोटीमा आर्थिक वर्ष २०८१/०८२ का लागि खोप कार्यक्रमको समीक्षा तथा आगामी वर्षको सूक्ष्म योजना निर्माण सम्बन्धी कार्यक्रम जेठ १८ गते सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, विभिन्न वडाका अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, स्वास्थ्य संस्था प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्यहरू र सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोबिन्द बहादुर बिष्टले यस आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा गाउँपालिकाभित्र सञ्चालन भएका खोप कार्यक्रम लगायत अन्य स्वास्थ्य सेवा गतिविधिहरूको समग्र समीक्षा गरिएको थियो।

प्रस्तुत विवरण अनुसार, पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूको आफ्नै भवन र जग्गा रहेको, दरबन्दीअनुसार स्वास्थ्यकर्मीहरू कार्यरत रहेको र सेवा प्रदायक निकायहरू आवश्यकता अनुसार स्थापना भएका तथ्यहरू उल्लेख गरिए। साथै, पालिकाको तर्फबाट प्राप्त निरन्तर सहयोगले पनि स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको उल्लेख गरिएको थियो।घरधुरी र वडा सर्वेक्षणको नतिजा अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई सतप्रतिशत खोप सेवा प्रदान गरिएको महत्वपूर्ण उपलब्धि पनि प्रतिवेदनमा समावेश थियो।
यद्यपि, औषधि, सामग्री तथा उपकरणको आपूर्ति समयमा हुन नसक्नु, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू लक्ष्यअनुसार अगाडि नबढ्नु, तालिमको अभाव, भौतिक पूर्वाधारको कमजोरी र बजेटको सीमितता जस्ता पक्षहरू सुधार गर्नु पर्ने क्षेत्रका रूपमा औँल्याइएका थिए।
स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौतीहरू दुवै देखिएको उल्लेख गर्दै प्रतिवेदनमा आवश्यकता अनुसारको जनशक्ति र पर्याप्त संख्या भएका स्वास्थ्य संस्थाहरूलाई बलियो पक्षका रूपमा चिनाइएको थियो। तर, भौगोलिक विकटता, बसाइँसराइ, रुढीवादी परम्परा, अन्धविश्वास, जनचेतनाको कमी र बजेट अभावजस्ता चुनौतीले सेवा प्रवाहमा अवरोध पैदा गरिरहेको जनाइएको थियो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्ता चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।



