ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् ।
प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।
ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।
स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।
पहिचान खुल्यो ज्यान गुमाएकी स्कुटर चालक महिलाको
दुर्घटनामा ज्यान गुमाएकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो ।
काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
नेपाल भ्युज बाट साभार