
डोटी — सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढी, कैलाली र जिल्ला सहकारी संघ लिमिटेड डोटीको संयुक्त साझेदारीमा सञ्चालन गरिएको ६ दिने सहकारी व्यवस्थापन तथा लेखा सम्बन्धी तालिम सम्पन्न भएको छ।
डोटीको सिलगढीमा २०८२ असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा डोटी जिल्लाका २५ वटा सहकारी संस्थाका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो।

तालिमको समापन समारोहमा प्रशिक्षक जनक बोगटीले “सिप सिक्नु मात्रै होइन, सिकेको सिपलाई व्यवहारमा उतार्न सक्नु नै वास्तविक सफलता हो” भन्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला सहकारी संघ डोटीका उपाध्यक्ष राम खड्काले सहकारीको सामाजिक र आर्थिक महत्वबारे प्रकाश पार्नुभयो भने अध्यक्ष अमर बहादुर साउदले समापन मन्तव्य दिंदै तालिमले सहकारी संस्थाहरूको सुशासन, पारदर्शिता र उत्तरदायित्वमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजिकरण जिल्ला सहकारी संघ डोटीका सचिव जयन्द्र खड्काले गर्नुभएको थियो। तालिममा सहभागीहरू लेखा प्रणाली र सहकारी व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।


